Logo

२८ माघ, काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढे पनि २१ जनाले अझैसम्म स्पष्टीकरण बुझाउन अटेरी गरेका छन् ।

निर्वाचन आचारसंहिता लागू भएयता आयोगले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र स्थलगत अनुगमनका आधारमा दोषी देखिएका ५१ जनालाई जवाफ माग गर्दै स्पष्टीकरण सोधेको थियो । जसमध्ये हालसम्म ३० जनाले मात्रै आफ्नो जवाफ पेश गरेको र बाँकी २१ जना अझै आयोगको सम्पर्कमा नआएको सहायक प्रवक्ता कुल जीसीले जानकारी दिनुभएको छ ।

आयोगले माघ ४ गतेदेखि नै निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू गरेको भए पनि राजनीतिक दलका उम्मेदवार र सरोकारवालाहरूबाट यसको उल्लंघन हुने क्रम रोकिएको छैन । स्पष्टीकरण नबुझाउनेहरूलाई पुनः ताकेता गरिएको र अटेरी गरिरहेमा आयोगले निर्वाचन ऐनअनुसार कडा कारबाहीको निर्णय लिने तयारी गरेको छ । सामान्यतया स्पष्टीकरण आएपछि प्राप्त प्रमाणका आधारमा जाँचबुझ गरी सचेत गराउने, जरिवाना गर्ने वा उम्मेदवारी रद्द गर्नेसम्मको कानुनी अधिकार आयोगसँग सुरक्षित रहन्छ ।

आयोगको यो सक्रियताले निर्वाचनमा सरकारी स्रोत साधनको दुरुपयोग रोक्न र सबै उम्मेदवारका लागि समान अवसर सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । तर, स्पष्टीकरण सोधिएकामध्ये झण्डै आधाले जवाफ नदिनुलाई आयोगको निर्देशनको अवज्ञाका रूपमा हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले आफ्नो अनुगमन संयन्त्रलाई थप चुस्त बनाएको छ भने आचारसंहिता पालना नगर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याउने चेतावनी दिएको छ ।


सम्बन्धित समाचार