Logo

२९ माघ, काठमाडौं । मुलुकको मुख्य हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आगामी फागुन १ गते विभिन्न समूह तथा राजनीतिक दलहरूले विमानस्थल आसपास प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले यस्तो कदम चालेको हो । बिहीबारदेखि लागू भएको यो आदेश आगामी एक महिनासम्म कायम रहनेछ, जसअनुसार अब विमानस्थल परिसरभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई कुनै पनि प्रकारका विरोध प्रदर्शन गर्न पाउने छैनन् ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेश अनुसार विमानस्थलको ‘गोल्डेन गेट’ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ र परिसरभित्रका सम्पूर्ण सडक खण्डहरूमा अनसन, धर्ना, घेराउ र सभाजस्ता गतिविधिमा पूर्ण रोक लगाइएको छ। विमानस्थल जस्तो अति नै संवेदनशील क्षेत्रमा अनियन्त्रित भीड जम्मा हुँदा तोडफोड वा आगजनी जस्ता अप्रिय घटना हुन सक्ने जोखिमलाई प्रशासनले निषेधाज्ञाको मुख्य कारण मानेको छ । सार्वजनिक सुरक्षा र हवाई यात्राको सुचारु सञ्चालनका लागि यो क्षेत्रलाई प्रदर्शनमुक्त राख्नु अनिवार्य देखिएको प्रशासनको ठहर छ ।

स्थानीय प्रशासनले नागरिकको संवैधानिक हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने स्पष्ट पारे पनि सुरक्षा संवेदनशीलतासँग कुनै सम्झौता नगर्ने जनाएको छ । तोकिएको निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण रूपमा भेला हुन पाइने भए तापनि, कुनै पनि प्रदर्शनका क्रममा सरकारी वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा त्यसको शोधभर्ना आयोजक पक्षबाटै गराइने चेतावनी समेत दिइएको छ । यस निर्णयले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै सर्वसाधारण र यात्रीहरूको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार