Logo

२९ माघ,वीरगञ्ज । रौतहटको जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करीको प्रयास सशस्त्र प्रहरी बल र वन सुरक्षाको संयुक्त टोलीले विफल पारेको छ।

बुधबार राति करिब ९:३० बजे साझेदारी वनअन्तर्गत बागमती नहर नजिक संयुक्त गस्तीमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो। जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा रहेको टोलीले जाँचका क्रममा भारतीय नम्बर प्लेटको टाटा सुमो गाडीमा लोड गरिएको दुई गोलिया साल काठ फेला पारेको हो।

घटनास्थलबाट ना ६७ प १०५१ नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

टोली घटनास्थलमा पुग्नासाथ तस्करीमा संलग्न व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहले जानकारी दिए।

बरामद गरिएको साल काठ, सुमो गाडी र मोटरसाइकल हाल डिभिजन वन कार्यालय रौतहटको नियन्त्रणमा राखिएको छ। काठको नापजाँच प्रक्रिया अघि बढाइएको छ भने फरार तस्करहरूको खोजी कार्य तीव्र पारिएको कार्यालयले जनाएको छ।

वन क्षेत्रबाट हुने अवैध काठ ओसारपसार रोक्न संयुक्त गस्तीलाई अझ सक्रिय बनाइएको सुरक्षा निकायले जनाएको छ।


सम्बन्धित समाचार