Logo

२९ माघ, काठमाडौं । तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाएका यात्रुहरूका परिवारलाई उचित क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको सुरक्षामा कडाइ गर्ने त्रिपक्षीय सहमति भएपछि रामेछापको यातायात सेवा पुनः सुचारु भएको छ ।

गत मंगलबार भएको भीषण दुर्घटनालाई लिएर आक्रोशित पीडित परिवार, स्थानीय प्रशासन र अरनिको यातायात सेवाका प्रतिनिधिबीच बुधबार मध्यरातसम्म चलेको छलफलले निकास निकालेको हो । सहमति जुटेसँगै हिजोदेखि ठप्प रहेका सडकहरू खुलेका छन् भने शोकमा रहेका परिवारजनले मृतकको शव बुझ्न राजी भएका छन् ।

सहमति पत्रमा उल्लेख भएअनुसार अरनिको यातायातले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिमको क्षतिपूर्ति तत्काल उपलब्ध गराउने जिम्मा लिएको छ । विशेष गरी दुर्घटनापछि नदीमा बेपत्ता भएका दुई बालक र एक युवकको हकमा पनि मृतक सरह नै मानेर क्षतिपूर्ति प्रदान गरिने महत्वपूर्ण निर्णय भएको छ । यसका अतिरिक्त लापरबाहीपूर्ण तरिकाले बस चलाउने चालकलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने र पीडित पक्षका थप मागहरूलाई सम्बोधनका लागि गृह मन्त्रालय एवं प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ ।

दुर्घटनाको पुनरावृत्ति हुन नदिन जिल्लाको यातायात प्रणालीमा व्यापक सुधार गर्ने बुँदामा समेत सहमति भएको छ । अबदेखि रामेछापमा सञ्चालन हुने सार्वजनिक सवारीको नियमित र प्रभावकारी अनुगमन गरिनेछ भने चालकहरूले मादक वा नशालु पदार्थ सेवन गरे÷नगरेको विषयमा छड्के जाँचलाई तीव्रता दिइनेछ । साथै, जीर्ण सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायलाई सक्रिय गराइने र सुरक्षित यात्राको सुनिश्चितता गरिने आश्वासन पछि अवरुद्ध सडक सञ्चालनमा आएको हो । काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको सो बस दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अझै ३ जना बेपत्ता छन् ।


सम्बन्धित समाचार