Logo

२९ माघ, काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनीहरूले मुलुकी फौजदारी कार्यविधि संहिताको कानुनी प्रावधानमा टेकेर उच्च अदालतमा पुनरावेदन गरेका हुन् । उक्त निवेदनमाथि सुनुवाइ गर्न न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) बमोजिम आफूलाई थुनामुक्त गर्न माग गर्दै यसअघि जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । उक्त कानुनी प्रावधानमा यदि अभियुक्त कसुरदार होइन भन्ने मनासिब आधार प्राप्त भएमा मुद्दाको जुनसुकै अवस्थामा पनि अदालतले थुनाबाट छाड्ने आदेश दिन सक्ने व्यवस्था छ । तर, जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सो आधार नदेखिएको भन्दै माग अस्वीकार गरेपछि रायमाझी उच्च अदालत पुग्नुभएको हो । यस्तै, अर्का आरोपित बेचन झाले पनि जिल्लाको आदेश चित्त नबुझाएर गत पुस ११ गते नै उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो। सोही आदेशलाई पछि उच्च अदालत पाटन र सर्वोच्च अदालतले समेत सदर गरेपछि उनीहरू निरन्तर थुनामा रहँदै आएका छन् ।  आजको सुनुवाइले उनीहरूलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउने वा रिहा गर्ने भन्ने विषयमा महत्त्वपूर्ण मोड लिन सक्ने देखिएको छ । अदालतको यो कदमलाई यस प्रकरणको न्यायिक प्रक्रियामा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै