२९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरूको कठिन भूगोल र मौसमी चुनौतीका बाबजुद पनि आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभएको छ ।
बिहीबार हिमाली क्षेत्रको निर्वाचन तयारी र वस्तुस्थितिको प्रत्यक्ष अवलोकनका लागि सोलुखुम्बु पुग्नुभएकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लेरीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सरोकारवालाहरूसँग छलफल गर्दै निर्वाचनको मिति नसर्ने दृढता व्यक्त गर्नुभएको हो । सरकारले तोकिएकै समयमा सुरक्षित र व्यवस्थित रूपमा मतदान प्रक्रिया पूरा गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ ।
जिल्ला भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारीबारे विस्तृत ब्रिफिङ लिनुभएको थियो । जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले हिमाली भेगका नागरिकहरूलाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गर्नुभयो । हिमाली क्षेत्रको विशेष परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा र व्यवस्थापकीय पाटोमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता समेत उहाँले जनाउनुभएको छ ।
छलफलका क्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल र प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जिल्लाको पछिल्लो सुरक्षा अवस्था, मतदान केन्द्रको व्यवस्थापन र निर्वाचन सामग्रीको उपलब्धताका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रधानमन्त्रीको यो भ्रमणले स्थानीय प्रशासन र मतदाताहरूमा थप उत्साह जगाएको छ ।
















