Logo

१ फागुन, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सङ्घारमा पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फिर्तीलाई राजावादी समूहहरूले ’शक्ति प्रदर्शन’को माध्यम बनाउने तयारी गरेका छन् । झापाबाट आज शुक्रबार दिउँसो १२ बजे काठमाडौँ ओर्लिने तालिका रहेका पूर्वराजालाई स्वागत गर्न विभिन्न राजसंस्थावादी शक्तिहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ’भव्य’ उपस्थिति जनाउन आह्वान गरेपछि सुरक्षा निकाय र निर्वाचन आयोग दुवैको ध्यान तानिएको छ ।

राजावादीहरूको तयारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा चुनौतीको विश्लेषण गरी विमानस्थलको ’गोल्डेन गेट’ भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । फागुन १ गतेदेखि एक महिनासम्म लागू हुने गरी पाँच जनाभन्दा बढी व्यक्ति भेला भई प्रदर्शन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित मुठभेड रोक्न सुरक्षा रणनीति तय गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार विमानस्थलभित्र प्रदर्शन हुन नदिन र बाहिरको सुरक्षा व्यवस्था कडा पार्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदर्शनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, दुर्गा प्रसाईं नेतृत्वको महाअभियान र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको सहभागिता रहने बताइएको छ । प्रशासनले कडाइ गरे पनि महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने निषेधाज्ञा तोडेरै स्वागत गर्ने चेतावनी दिएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने, “तिमीहरूसँग दम छ भने राजालाई हतकडी लगाएर देखाऊ! कुनै तलमाथि भयो भने हामी भोलि नै नारायणहिटीमा राजा भित्र्याउँछौँ ।” यस्तै, नवराज सुवेदी नेतृत्वको समितिले पनि राजसंस्थाबिना मुलुकको सङ्कट समाधान नहुने जिकिर गर्दै विज्ञप्ति जारी गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा राप्रपाका उम्मेदवारहरू नै राजाको स्वागतमा सक्रिय हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवार रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत “देश नवीन समझदारीतिर अग्रसर भएको“ भन्दै ऐतिहासिक स्वागतका लागि कार्यकर्तालाई काठमाडौँ आउन आह्वान गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसलाई ’चुनावी फन्डा’ नभई ’राष्ट्रिय आवश्यकता’को संज्ञा दिएका छन् । उनले अन्य दलका राष्ट्रवादीहरूलाई पनि स्वागतमा सहभागी हुन आग्रह गरेका छन् ।

राजावादीको बढ्दो सक्रियतापछि निर्वाचन आयोगले पनि सूक्ष्म निगरानी बढाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रदर्शनको नाममा आचारसंहिता उल्लङ्घन भए कडा ’एक्सन’ लिने बताएका छन् । उनले भने, “यदि कुनै उम्मेदवार आचारसंहिता विपरीतका गतिविधिमा संलग्न देखिएमा उम्मेदवारी खारेज हुनेसम्मको अवस्था आउन सक्छ ।”

गत वर्ष चैत १५ गते पोखराबाट पूर्वराजा फर्कँदा भएको भीड र त्यसपछिको हिंसात्मक प्रदर्शनलाई सम्झँदै प्रशासनले यसपटक थप सतर्कता अपनाएको देखिन्छ । झापा र जनकपुरको बसाइपछि काठमाडौँ फर्कन लागेका शाहको यो आगमनले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।


सम्बन्धित समाचार
भर्खरै