Logo

१ फाल्गुण, काठमाडौँ । झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समर्थकहरूको निकै ठुलो भिड लागेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आफैँ विमानस्थल पुगेर पूर्वराजालाई स्वागत गर्नुभएको छ । बाहिर हजारौँको सङ्ख्यामा रहेका समर्थकहरूलाई ‘म राजा लिएर आउँछु’ भन्दै प्रसाईं विमानस्थलको भित्री कक्षमा प्रवेश गर्नुभएको थियो भने बाहिर राजवादीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आऊ देश बचाऊ’ जस्ता नाराबाजी गर्दै माहोल तताएका थिए ।

पूर्वराजाको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि समर्थकहरूको बाक्लो उपस्थितिले सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण बनेको छ । विमानस्थलदेखि निर्मल निवाससम्मको रुटमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कुनै पनि उच्छृङ्खल गतिविधि हुन नदिन चोक–चोकमा थप सुरक्षा बल परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले स्कर्टिङको विशेष व्यवस्था समेत मिलाएको छ ।

राजावादीहरूको प्रदर्शन र भिडभाडका कारण विमानस्थल पुग्ने र फर्कने सर्वसाधारण यात्रुहरूले भने निकै सास्ती खेप्नुपरेको छ । सडकमा सवारी साधनको आवागमन ठप्प भएपछि कतिपय यात्रुहरू आफ्ना भारी सुटकेस घिसार्दै पैदलै विमानस्थलतर्फ जान बाध्य भएका थिए । विमानस्थलको मुख्य प्रवेशद्वारमा लागेको भीड र सुरक्षा जाँचका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका लागि समयमै पुग्नुपर्ने यात्रुहरू अलपत्र परेका देखिन्थे । विमानस्थल परिसरमा देखिएको यो अस्तव्यस्तताले केही समय सेवा प्रवाहमा समेत असर पुर्‍याएको थियो ।


सम्बन्धित समाचार
भर्खरै