१ फाल्गुन, काठमाडौं । बाहिरबाट हेर्दा युरोपको चमकधमकपूर्ण जीवन देखिए पनि ग्रिसमा रहेका हजारौँ नेपालीको वास्तविकता भने कुनै पशुको गोठभन्दा कम छैन ।
पछिल्लो समय ग्रिसलाई केन्द्र बनाएर फस्टाएको मानव तस्करी र सरकारी उदासीनताका कारण यहाँ रहेका नेपालीहरू अनागरिक सरह बाँच्न विवश छन्। दुई वर्षदेखि राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन नहुँदा र म्याद सकिएका राहदानी बोकेर हिँड्दा ग्रिस प्रशासनको डरले उनीहरूलाई राति निद्रा समेत लाग्दैन । कृषि फार्ममा काम गर्ने कतिपय नेपालीको अवस्था यस्तो दयनीय छ कि घरमा भिडिओ कल गर्दा आफ्नो बस्ने कोठा देखिएला भन्ने डरले उनीहरू बाहिर निस्किएर मात्र परिवारसँग कुरा गर्ने गर्छन् ।
ग्रिसको राजधानी एथेन्सबाट टाढा रहेका स्ट्रबेरी फार्म र प्लास्टिक उद्योगहरूमा कार्यरत नेपालीहरूले न्युनतम मानवीय मापदण्ड समेत नभएका आवासमा बस्नुपरिरहेको छ । राहदानीको म्याद सकिएका कारण बिरामी पर्दा अस्पताल जान, बैंक खाता खोल्न वा वैधानिक रूपमा नेपाल पैसा पठाउन समेत उनीहरू वञ्चित छन् । राहदानी नहुनुको फाइदा उठाउँदै रोजगारदाताहरूले उनीहरूलाई आधा तलबमा काममा जोताउने गरेका छन् । दलाललाई हजारौँ युरो बुझाएर ‘डंकी रुट’ हुँदै ग्रिस पुगेका धेरै युवाहरू अहिले न घर फर्कन सक्छन्, न त त्यहाँ सुरक्षित रूपमा बस्न नै। उनीहरूका लागि नेपालको चुनाव र मताधिकारभन्दा पनि एउटा वैध राहदानी ठुलो सपना बनेको छ ।
यस विषयमा भियनास्थित नेपाली दूतावासले भने आगामी मार्च महिनाभित्रै ग्रिसमा राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । नियोग उपप्रमुख लेखनाथ गौतमका अनुसार स्थानीय निकायसँग समन्वय र छलफल तीव्र पारिएको छ । तर, १७ सय किलोमिटर टाढा अस्ट्रियामा रहेको दूतावासले मात्र ग्रिसमा बढ्दो नेपालीको चापलाई सम्बोधन गर्न कठिन देखिएकाले त्यहाँ छुट्टै कूटनीतिक संयन्त्र वा अवैतनिक वाणिज्यदूतको आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन् । सरकारी पहल ढिलो हुँदा ग्रिसमा रहेका नेपालीहरू हरेक पल ‘डिपोर्ट’ हुने त्रास र परिचयविहीनताको पीडामा छटपटाइरहेका छन् ।
















