Logo

२ फागुन, वीरगञ्ज । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्जलाई केन्द्र बनाएर विगत तीन दशकदेखि अवैध कारोबार र तस्करीको जालो फैलाउँदै आएका मदन गुप्ता (रुन्चे) र उनको समूहमाथि प्रहरीले कानुनी कारबाहीको प्रक्रियालाई कसिलो बनाएको छ ।

माघ २६ गते सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीमाथि साङ्घातिक आक्रमण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले मदन रुन्चेसहित सात जना विरुद्ध ‘ज्यान मार्ने उद्योग’ तथा ‘आपराधिक उपद्रव’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको हो।

घटनाको विवरण अनुसार, माघ २६ गते बिहान १०:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित मदन गुप्ताको गोदाममा भन्सार छलीका सामानहरू अवैध रूपमा भण्डारण गरिएको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा सशस्त्र प्रहरी बल १३ नं. गण र वीरगञ्ज भन्सार कार्यालयका तथ्याङ्क अधिकृतसहितको संयुक्त टोली अनुसन्धानका लागि पुगेको थियो । तर, अवैध सामान नियन्त्रणमा लिन खोज्दा मदन गुप्ताको समूहले टोलीलाई घेरा हाली ढुङ्गामुढा, भाठा प्रहार र सवारी साधन तोडफोड गर्दै साङ्घातिक आक्रमण गरेको थियो।

तस्करीको दुनियाँमा ‘मदन रुन्चे’ एक पुराना र पहुँचवाला खेलाडी मानिन्छन् । उनले विगत ३० वर्षदेखि प्रहरी, प्रशासन र राजस्व अनुसन्धानका कर्मचारीहरूसँगको ‘सेटिङ’ मिलाएर समानान्तर तस्करी सञ्जाल चलाउँदै आएको आरोप छ । उनको ‘नवदुर्गा ट्रान्सपोर्ट’ (साविकको जय माँ दुर्गा) मा यसअघि पनि पटक–पटक छापा मारी करोडौँ मूल्यका कपडा, हार्डवेयर र इलेक्ट्रोनिक्स सामान बरामद भएका थिए । तर, हरेक पटक भन्सार र राजस्वका कर्मचारीको मिलेमतोमा सामान छुटाउने र मुख्य सञ्चालक उम्किने परिपाटीका कारण उनको मनोबल झन् बढेको देखिन्छ ।

यसपटकको आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्जका प्रमोद कुमार कानु, दिपराज सहनी मलाह, कुन्जन सर्राफ, विन्दवासिनीका श्रीचन्द्र प्रसाद साह र भारतीय नागरिकहरू प्रभु महतो तथा पृतम कुमार चौधरी रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना पर्सा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुशिल साह कानुका सक्रिय कार्यकर्ता रहेका छन्, जसले तस्करी र राजनीतिक शक्तिबीचको गहिरो सम्बन्धलाई समेत संकेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। मुख्य योजनाकार भनिएका मदन गुप्ता भने हाल फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। राज्यका सुरक्षा निकायमाथि नै आक्रमण भएपछि यसपटक प्रशासनले यो तस्करी सञ्जाललाई जरैदेखि उखेल्ने रणनीति लिएको दाबी गरेको छ।


सम्बन्धित समाचार