२ फागुन, काठमाडौँ । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा चालक गोदावरी नगरपालिका-६ निवासी ५२ वर्षीय गणेश खड्का र सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकमा सवार करिब ४० वर्ष र ५० वर्ष उमेर समूहका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक दुई जनाको सनाखत भने हालसम्म खुल्न सकेको छैन ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार सडकको भौगोलिक अवस्था र रातिको समय दुर्घटनाको कारक हुन सक्ने आशंका गरिएको छ ।
















