२ फागुन, काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ। सङ्घले आयोजना गरेको श्रद्धाञ्जलीसभामा उक्त निर्णय सार्वजनिक गरिएको हो।
सङ्घका अध्यक्ष समीर बलामीले स्वर्गीय सिटौलाको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिए। उनका अनुसार हरेक वर्ष माघ १८ गते विशेष स्मृति कार्यक्रम आयोजना गरिनेछ भने सङ्घको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिनेछ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा पुर्याएको योगदानको स्मरण गर्दै अक्षयकोषमा सहयोग गर्न सबैसँग अपिल गरे। उनले बोर्डका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरे। सिटौलाले पुराना र नयाँ पुस्ताका पत्रकार तथा चलचित्रकर्मीबीच सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।
त्यसैगरी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै सिटौला मिलनसार, सहयोगी र सकारात्मक सोचका धनी व्यक्तित्व भएको बताए। उनले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।
स्थापित अक्षयकोषमा विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गरेका छन्। ओएसआर डिजिटलले ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले २५ हजार, निर्माताद्वय सरोज वली र मोहितवंश आचार्यले २५ हजार, षट्कोण आट्र्सले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन्।
सङ्घका अनुसार यसअघि चलचित्र पत्रकार, निर्माता तथा अन्य सहयोगी व्यक्तिहरूबाट तीन लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ।















