२ फागुन,सुनसरी । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमा नाकामा बढाइएको कडाइका क्रममा सशस्त्र प्रहरी बल, नेपालले सुनसरीबाट हतियार र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सुनसरीको कोशी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट भारत अररिया ग्रामपञ्चायत–४ का ३६ वर्षीय राम थेलन पासवानलाई पक्राउ गरिएको हो। उनी भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्ने क्रममा चेकजाँचका बेला नियन्त्रणमा परेका थिए।
सशस्त्र प्रहरीले पासवानको साथबाट इटालीमा बनेको एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको जनाएको छ। साथै ब्राउन सुगरजस्तो देखिने करिब १०० ग्राम पदार्थ, ७ हजार ५ नेपाली रुपैयाँ र ९ हजार ३ सय ८० भारतीय रुपैयाँ नगदसमेत फेला परेको छ। प्रयोग गरिएको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
निर्वाचन नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनिष थापाले सीमा नाकामा ‘हाइ अलर्ट’ जारी गर्दै कडा निगरानी गर्न निर्देशन दिएका छन्।
“निर्वाचनको समयमा सीमाबाट हुने कुनै पनि अवैध क्रियाकलाप र घुसपैठ सह्य हुने छैन,” डिआइजी थापाको भनाइ उद्धृत गर्दै सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















