Logo

२ फागुन ,सेढवा। महाशिवरात्रि पर्वका अवसरमा जल भर्न भारत पुगेका पर्साका एक कावर्थुको शुक्रबार मृत्यु भएको छ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–३ परसवाका ४५ वर्षीय प्रदीप महतो रहेका छन्। उनी बिहार राज्यको गोबिन्दगंज जिल्ला अन्तर्गत गोबिन्दघाटबाट जल भरेर फर्किने क्रममा अस्वस्थ भएका थिए।

सोही काफलामा सहभागी अमित गौरोका अनुसार शुक्रबार बिहान महतोको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय चिकित्सकबाट जाँच गराई औषधि सेवन गराइएको थियो। औषधि सेवनपछि केही समय सामान्य देखिएका महतोले बिहान खाना खाई स्नानसमेत गरेका थिए।

तर पुनः ट्याक्टरमार्फत अरेराजतर्फ जाने क्रममा दिउँसो करिब १ बजे उनलाई अचानक हृदयघात भएको र घटनास्थलमै मृत्यु भएको काफलामा सहभागीहरूले बताएका छन्।

महतो दरवाना काफला समाज पर्साको परसवा भान्साका सदस्यसमेत रहेका थिए। उक्त काफलामा पर्सा जिल्लाबाट करिब चार सय जना कावर्थु सहभागी रहेका र उनीहरूले महाशिवरात्रिका दिन जिराभवानी मन्दिरलगायत विभिन्न शिव मन्दिरमा जल चढाउने कार्यक्रम रहेको जनाएका छन्।

मृतक महतोको शव नेपाल ल्याई शुक्रबार साँझ हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको जानकारी प्राप्त भएको छ।


सम्बन्धित समाचार