२ फागुन,वीरगञ्ज । सशस्त्र प्रहरी बलमाथि आक्रमण र सवारी साधन तोडफोडमा संलग्न आरोपमा ६ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धि मुद्दा दायर गरिएको छ।
पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार, माघ २६ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भन्सार छलीका सामान भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोली अनुसन्धानमा पुगेको थियो।
उक्त टोली गोदाममा पुगेको समयमा स्थानीय व्यक्तिहरूले सुरक्षाकर्मीलाई घेरा हाली ढुङ्गामुढा र भाठा प्रहार गरेका साथै सरकारी सवारी साधन तोडफोड गरेका थिए।
घटनामा संलग्न भएको आरोपमा वीरगञ्जका प्रमोद कुमार कानु, दिपराज सहनी मलाह र कुन्जन सर्राफ, विन्दवासिनी गाउँपालिकाका श्रीचन्द्र प्रसाद साह र भारतीय नागरिक प्रभु महतो तथा पृतम कुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।
घटनाका मुख्य योजनाकार मदन गुप्ता (रुन्चे) भने अझै फरार छन्। स्रोतका अनुसार उनी मुद्दा मिलाउन भित्री रूपमा सेटिङ गर्ने प्रयास गरिरहेका छन् र आफ्नो बारेमा सञ्चार माध्यममा समाचार नआओस् भनी आर्थिक प्रभाव पार्न खोजेको आरोप छ।
प्रहरीको अनुसन्धान अनुसार, गुप्ता नेपाल–भारत सीमाक्षेत्रमा भन्सार छलि गरेर सामान भित्र्याउने कार्यमा संलग्न थिए र सशस्त्र प्रहरीको टोलीमाथि आक्रमणको मुख्य योजनाकार हुन्। उनी हाल खोजीमा रहेका छन्।
















