Logo

२ फागुन,वीरगञ्ज । धनुषा, सिरहा, बारालगायत जिल्लामा शृंखलाबद्ध हत्या र आत्महत्याका घटनाले स्थानीयवासीमा भय–त्रास फैलाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ का पहिलो छ महिनामा मधेस प्रदेशमा ५६ वटा हत्या भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।

धनुषामा हिजो (शुक्रबार) एक युवकको शव जनकपुरधाम–२२ बसबिट्टीस्थित रोईयाहा पोखरी नजिकको खोला किनारमा भेटिएको छ। मृतक जामुनको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। मृतकको पहिचान खुल्न नसकेको र वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ।

यसअघि माघ २८ गते जनकपुरधाम–१७ तेतरियास्थित सडक किनारमा एक युवतीको शव फेला परेको थियो भने माघ २३ गते देउरी परवाहाबाट पौडेश्वर जाने सडकखण्डमा पनि एक अपरिचित महिलाको शव भेटिएको थियो। तीनवटै घटनामा शव सार्वजनिक स्थानमा भेटिनु र पहिचान नखुल्नुले स्थानीयमा त्रास फैलाएको प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले बताए।

मधेसमा पछिल्लो सातामा मात्र पनि माघ १४ देखि १६ गतेसम्म सिरहा, महोत्तरी र बारामा तीनवटा हत्या भएका थिए। सिरहामा ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। महोत्तरीको गौशाला नगरपालिका–१ की ७३ वर्षीया रासोदेवी यादव घर नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। बारामा परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा जगरुक मण्डलको घरमा अन्धाधुन्ध हतियार प्रहार हुँदा आमा र छोरा घटनास्थलमै मृत्यु भएका थिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवमा ५६ हत्या भएकोमा २६ जना पुरुष, १८ महिला र १२ बालबालिका रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी हत्या सप्तरीमा (१३) भएको छ भने धनुषा र सिरहामा ९–९ जनाको हत्या भएको छ। रौतहटमा ८, पर्सामा ६, महोत्तरी र सर्लाहीमा ४–४ तथा बारामा ३ जनाको हत्या भएको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा मधेसमा ९९ जना, २०८०/०८१ मा १२७ जना र २०७९/०८० मा १०९ जनाको हत्या भएको थियो। प्रहरीले अधिकांश घटनाको कारण पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल, लागुऔषध प्रयोग लगायत भएको जनाएको छ।

स्थानीयवासीले शृंखलाबद्ध हत्या घटनाले त्रास फैलाएको बताएका छन् भने प्रहरीले प्रत्येक घटनाको छुट्टाछुट्टै अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार