Logo

३ फागुन, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक दम्पतीको ज्यान गएको छ ।

दुर्गाभगवती गाउँपालिका-४ स्थित गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै भएको दुर्घटनामा परी यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब साढे ५ बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर ३० यु १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। तीव्र गतिमा रहेको मोटरसाइकल सडक किनारको सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका साह दम्पतीलाई टाउको, मुख र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा अचेत फेला पारिएको थियो। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार मृतकहरूको शव अहिले पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार