३ फाल्गुण, काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सवलाई ऐतिहासिक गौरवका साथ मुलुकभर सेना दिवस मनाएको छ ।
महाशिवरात्रिको पावन अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा सेनाको व्यावसायिकता र सौर्य झल्किने गरी कवाज, आकर्षक परेड तथा तोप बढाइँ प्रदर्शन गरिएको थियो। सो अवसरमा विभिन्न मौलिक सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै सेनाले राष्ट्रिय एकता र वीरताको सन्देश प्रवाह गरेको छ ।
समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । टुँडिखेलको आकाशमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गरिँदा वातावरण थप उल्लासमय बनेको थियो । हरेक वर्ष शिवरात्रिको दिनलाई आफ्नो स्थापना दिवसको रूपमा मनाउँदै आएको सेनाले यस वर्ष पनि आफ्नो गौरवशाली इतिहासलाई स्मरण गर्दै मुलुकको सुरक्षा र जनसेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ ।
















