Logo

३ फाल्गुण, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आइतबार भएको खेलमा नेपाल दुई पटकको पूर्व विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।

यस पराजयसँगै प्रतियोगितामा लगातार तीन खेल गुमाएको नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ भने वेस्ट इन्डिज अपराजित रहँदै अघिल्लो चरण प्रवेश गर्ने पहिलो टोली बनेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनको मध्यम योगफल तयार पारेको थियो ।

सुरुवाती ब्याटरहरू सस्तैमा समेटिएपछि ४६ रनमै ५ विकेट गुमाएर संकटमा परेको नेपाली इनिङ्सलाई उपकप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्नुभएको थियो । उहाँले ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याउनुभएको थियो, जसमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिँदै नेपाललाई ठूलो योगफल बनाउनबाट रोक्नुभयो ।

१३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निकै आक्रामक सुरुवात गर्दै मात्र १५।२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। वेस्ट इन्डिजका कप्तान शाई होपले अविजित ६१ रन र शिमरोन हेतमायरले अविजित ४६ रनको योगदान दिएपछि नेपाली बलरहरूले विपक्षी ब्याटरलाई दबाबमा राख्न सकेनन्। नेपालका लागि नन्दन यादवले सान्त्वना स्वरूप एक विकेट लिनुभयो । यस हारले नेपाललाई समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनाएको छ भने अब स्कटल्याण्ड विरुद्ध हुने नेपालको अन्तिम खेल केवल प्रतिष्ठाको लडाइँमा मात्र सीमित रहने देखिएको छ ।

प्रतियोगिताबाट बाहिरिए पनि नेपालका लागि यो खेल व्यक्तिगत कीर्तिमानका दृष्टिले भने स्मरणीय रह्यो। अनुभवी खेलाडी सोमपाल कामी नेपालका तर्फबाट तीनवटा टी–२० विश्वकप (२०१४, २०२४ र २०२६) खेल्ने पहिलो र एकमात्र नेपाली खेलाडी बन्नुभएको छ। उहाँले ब्याटिङतर्फ पनि १५ बलमा अविजित २६ रन जोड्दै आफ्नो उपस्थिति बलियो बनाउनुभयो । त्यस्तै, दीपेन्द्र सिंह ऐरी टी२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बन्न सफल हुनुभएको छ। यसअघि सन् २०१४ मा सुबास खकुरेलले यो सफलता हात पार्नुभएको थियो । पावर प्लेमा पर्याप्त रन जोड्न नसक्नु र शीर्ष क्रमका ब्याटरहरूको असफलता नै नेपालको हारको मुख्य कारण बन्न पुग्यो ।


सम्बन्धित समाचार