Logo

३ फागुन,सेढवा। पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जिराभवानी मन्दिरमा आज महाशिवरात्रिको अवसरदेखि एक सातासम्म सञ्चालन हुने वार्षिक मेला सुरु भएको छ। जिराभवानी गाउँपालिका वडा नं. १ र २ को दोसाँधमा अवस्थित उक्त मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो।

महाशिवरात्रिको दिन शिवभक्तहरूले जल, बेलपत्र, फूल, प्रसाद लगायतका पूजाका सामग्री अर्पण गर्दै पूजा–आराधना गरेका थिए। परम्पराअनुसार केही भक्तजनहरूले गाँजा तथा किसानहरूले उत्पादन गरेको धानको ‘मुरला’समेत चढाएका थिए। अत्यधिक भीड व्यवस्थापनका लागि जिराभवानी बाबा बटेश्वरनाथ मन्दिर संरक्षण समितिले स्वयंसेवक, जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको जनाएको छ।

नेपाल र भारतबाट श्रद्धालुको आगमन

यस मन्दिरमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायतका जिल्लाबाट मात्र होइन, भारतको बिहार र उत्तर प्रदेशका विभिन्न स्थानबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। ग्रामीण भेगका थारु समुदायसहित विभिन्न जातजाति र समुदायबीच सामाजिक तथा आर्थिक सम्बन्ध सुदृढ बनाउन यो धार्मिक स्थलले महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयवासी बताउँछन्।

४०० वर्ष पुरानो किम्बदन्ती

स्थानीय जनश्रुतिअनुसार करिब ४०० वर्षअघि सामान्य मठका रूपमा सुरु भएको यस स्थलको इतिहास रोचक छ। तत्कालीन समयमा सेढवा, महादेवपट्टी, पिपडाढी, परस्वा, जीतपुर लगायतका गाउँहरू घना जंगलले घेरिएका थिए र त्यहाँ मुख्यतः आदिवासी थारु समुदायको बसोबास थियो।

किम्बदन्तीअनुसार महादेवपट्टी निवासी बिशुन महतो माछा मार्न चमरी खोलामा जाँदा जालमा बारम्बार कालो ढुंगा मात्र पर्ने गरेको थियो। दिक्क भएर फ्याँकेको उक्त ढुंगा सपनामा भगवान शिवको शिवलिंग भएको संकेत पाएपछि उनले सोही स्थानमा सानो झोपडी बनाई पूजा आरम्भ गरेको विश्वास गरिन्छ। पछि समुदायको सहयोगमा मन्दिर निर्माण गरियो।

मन्दिर निर्माणका क्रममा जिरा नामका डकर्मी (मिस्त्री)को मृत्यु भएपछि भवानी दुर्गाको मन्दिर स्थापना गरी जिरा भवानी माइँका नामबाट नामकरण गरिएको र शिवमन्दिर ‘बाबा बटेश्वरनाथ’का रूपमा प्रसिद्ध भएको जनविश्वास छ।

धार्मिक आस्था र कृषि संस्कृतिको संगम

स्थानीय किसानहरूले आफूहरूले उत्पादन गरेको मुख्य बाली धानको पहिलो अंशका रूपमा बालाको झोटी बनाई महाशिवरात्रि मेलामा अर्पण गर्ने परम्परा आज पनि कायम छ। वर्षभरि भक्तजनको उपस्थिति रहे पनि महाशिवरात्रिदेखि सुरु हुने मेला विशेष महत्वका साथ मनाइन्छ।

मेलामा कृषि तथा घरेलु सामग्रीहरूको व्यापार पनि हुने गर्दछ। किसानहरूले सालभरि प्रयोग हुने कोदालो, हसिया, बन्चरो, खुर्पी, हलोको फाली, हेङ्गाको डार, साथै भाँडाकुँडामा गाग्री, बाल्टिन, कराई, थाल, कुकर लगायतका सामग्री खरिद गर्ने गर्छन्। मेलामा बयर फल, कराई र कोदालो विशेष रूपमा प्रसिद्ध रहेको स्थानीय व्यापारीहरू बताउँछन्।

संरक्षणमा स्थानीय पहल

करिब १० बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा लाखौँ मूल्य बराबरको बगैंचा रहेको भए पनि राष्ट्रिय स्तरबाट संरक्षणमा अपेक्षित पहल नभएको गुनासो स्थानीयवासीको छ। यद्यपि स्थानीयको सक्रियतामा चन्दा संकलन गरी आधा दर्जनभन्दा बढी देवीदेवताका मन्दिर, पर्खाल, विवाह मण्डप, चौतारा तथा प्रतीक्षालय निर्माण भइसकेका छन्। खुला दिसामुक्त अभियानअन्तर्गत तत्कालीन जिविस पर्साबाट पाँचकोठे पक्की शौचालय पनि निर्माण गरिएको थियो।

संघीयता कार्यान्वयनपश्चात् स्थानीय तथा प्रदेश सरकारले मन्दिर संरक्षण तथा पूर्वाधार विकासमा केही सुधारात्मक काम थालेका छन्। गत वर्ष मन्दिरको संरक्षण र सम्वर्द्धनका लागि वैधानिक रूपमा समिति गठन गरिएको छ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको जिराभवानी मन्दिर क्षेत्रीय आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ भने वार्षिक मेलाले ग्रामीण अर्थतन्त्र चलायमान बनाउनसमेत टेवा पुर्‍याउँदै आएको छ।


सम्बन्धित समाचार