४ फाल्गुण, काठमाडौं । काठमाडौंको मुटु टुँडिखेलमा अमेरिकी सेनाको ब्यान्ड टोलीले देखाएको प्रस्तुति यतिबेला सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तातो बहसको विषय बनेको छ ।
महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर सार्वजनिक भएका तस्वीर र भिडियोहरू भाइरल भएपछि, विशेषगरी आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा यसलाई निकै चासोका साथ हेरिएको छ । सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ता र राजनीतिक विश्लेषकहरूले यसलाई शक्तिराष्ट्रको बढ्दो प्रभाव र मुुलुकको आन्तरिक राजनीतिसँग जोडेर टिप्पणी गरेपछि विवादले उग्र रूप लिएको हो ।
यस विषयमा उत्पन्न भ्रम चिर्दै नेपाली सेनाले भने यो कुनै असामान्य घटना नभई दशकौँदेखि चल्दै आएको ‘आर्मी टु आर्मी’ सम्बन्धको एउटा नियमित कडी मात्र भएको स्पष्ट पारेको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार मित्रराष्ट्रका सेनाबीच हुने यस्ता सांगीतिक तथा सांस्कृतिक आदानप्रदान पारस्परिक सम्बन्ध प्रगाढ बनाउने माध्यम हुन् । नेपाल र अमेरिकाबीच सन् १९४७ देखि नै सैन्य सम्बन्ध रहिआएको सन्दर्भमा, यसअघि पनि विभिन्न सरकारका पालामा यस्ता कार्यक्रमहरू हुने गरेका थिए । केही समयअघि मात्रै भारतीय सेना दिवसमा नेपाली सैनिक ब्यान्डले नयाँ दिल्लीमा प्रस्तुति दिएको उदाहरण प्रस्तुत गर्दै जंगी अड्डाले यसलाई सैन्य कूटनीतिको स्थापित अभ्यासका रूपमा अथ्र्याएको छ ।
यद्यपि, चुनावको मुखमा भएको यो प्रदर्शनलाई लिएर राजनीतिक रंग भने गाढा देखिएको छ । एउटा तप्काले यसलाई हालैका कतिपय आन्दोलन र राजनीतिक परिवर्तनमा पश्चिमा शक्तिको भूमिका रहेको दाबी गर्दै संशयपूर्ण नजरले हेरेको छ । तर, सरकार र सेना पक्षधरहरूले भने विगतमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वका सरकारहरूका पालामा पनि यस्ता संयुक्त सैन्य अभ्यास र सांस्कृतिक कार्यक्रमहरू भएको भन्दै यसलाई अनावश्यक चुनावी मसला नबनाउन आग्रह गरेका छन् । नियमित प्रक्रियालाई राजनीतिक दाउपेचको विषय बनाउँदा राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादामा आँच पुग्ने उनीहरूको तर्क छ ।

















