४ फाल्गुण, काठमाडौं । नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले बैंकिङ नियमन र निर्देशनहरूको उल्लंघन गरेको ठहर गर्दै देशका तीन ठूला वाणिज्य बैंकहरूलाई कारबाहीको दायरामा ल्याएको छ ।
राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षणका क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले प्रचलित ऐन तथा निर्देशनहरूको गम्भीर उल्लंघन गरेको पाइएपछि उनीहरूमाथि कारबाहीको निर्णय गरिएको हो । यस कारबाहीले बैंकिङ क्षेत्रमा अनुशासन कायम राख्न र निक्षेपकर्ताको हित संरक्षणका लागि राष्ट्र बैंक कडा रूपमा प्रस्तुत भएको सन्देश दिएको छ ।
कारबाहीको सबैभन्दा कडा प्रहार एनआईसी एशिया बैंकमाथि परेको छ, जसलाई पटक-पटकको निर्देशन अटेर गरेको भन्दै नगद जरिवाना नै तिराइएको छ । राष्ट्र बैंकले जारी गरेको लिखित आदेशको अवज्ञा गर्दै वित्तीय विवरण प्रकाशन गरेको पाइएपछि बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई जनही दुई/दुई लाख रुपैयाँ नगद जरिवाना गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम नियमनकारी निकायको आदेशलाई उपेक्षा गर्ने सञ्चालक र व्यवस्थापनलाई नै जिम्मेवार ठहर्याउँदै यो दण्डात्मक कदम चालिएको हो ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकलाई पनि गम्भीर त्रुटीका कारण सचेत गराइएको छ । इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा प्रवाह गर्दा आवश्यक कागजातमा ग्राहकको सहिछाप नगराएको, सुरक्षणले खामेकोभन्दा बढी ऋण दिएको र ब्याजदर अन्तर (स्प्रेड दर) मा मनोमानी गरेको फेला परेको छ । चालू पुँजी कर्जा मार्गदर्शनको समेत उल्लंघन गरी त्रैमासको अन्त्यमा कृत्रिम रूपमा कर्जा असुली देखाउन नयाँ अल्पकालीन कर्जा प्रवाह गरेको भन्दै बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
उता, ग्लोबल आइएमई बैंकले भने सम्भावित कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) पर्याप्त नगरेको तथा कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना सम्बन्धी प्रावधानहरू पालना नगरेका कारण बैंकका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकको चेतावनी व्यहोर्नुपरेको छ ।

















