४ फाल्गुण, काठमाडौं । माघ २७ गते सिन्धुली र रामेछापको सीमानामा पर्ने बेनीघाट नजिकै तामाकोसी नदीमा बस खस्दा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव एक सातापछि फेला परेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका(७, तल्लो बजार नजिकै सुनकोसी नदीको किनारमा सोमबार बिहान ९ वर्षीय बालक कृचन तामाङको शव फेला परेको हो । रामेछापको मन्थली नगरपालिका–२ पिप्ले घर भएका हेमलाल तामाङका छोरा कृचनको शवलाई उनका ठूलोबुबा युवराज तामाङले घटनास्थल पुगेर पहिचान गरेका हुन् । दुर्घटनाको सातौँ दिनमा नदीले बगाएर केही तल पुर्याएको अवस्थामा स्थानीय र सुरक्षाकर्मीले शव फेला पारेका हुन् ।
गत शनिबार बिहान पूर्व अरनिको यातायातको बा।प्र ००१–०५ ख ९९७५ नम्बरको बस बेनीघाट पुल नजिकैबाट नदीमा खस्दा १३ जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए। उक्त हृदयविदारक दुर्घटनामा दुईजना बालकहरू हराइरहेका थिए, जसमध्ये कृचनको शव फेला परे पनि अर्का एक बालक अझै बेपत्ता रहेका छन् । दुर्घटनामा दुवै बालकका आमाहरूले घटनास्थलमै ज्यान गुमाएका थिए । परिवारका सदस्यहरूले हराइरहेका बालकको खोजीका लागि निरन्तर आग्रह गरिरहेका छन् भने सुरक्षा निकायले खोजी कार्यलाई जारी राखेको छ ।
नदीको बहाव र भौगोलिक विकटताका कारण खोजी कार्यमा कठिनाइ भइरहेको भए पनि प्रहरीले बाँकी रहेका बालकको खोजीमा कुनै कसर बाँकी नराख्ने जनाएको छ । एक सातापछि एउटा शव फेला परेपछि परिवारमा शोक छाएको छ भने अर्का बालकको अवस्था अझै अज्ञात रहँदा आफन्तहरू चिन्तित बनेका छन् ।

















