५ फागुन, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी मैदान यतिबेला रोचक र अनपेक्षित मोडमा आइपुगेको छ । फागुन २१ गतेका लागि तय भएको निर्वाचनको दिन नजिकिँदै गर्दा वीरगञ्जको सडकदेखि ग्रामीण भेगका चौतारीसम्म राजनीतिक जोडघटाउका बहसहरू तीव्र बनेका छन् । यसपटकको निर्वाचन विगतका २०७४ र २०७९ को चुनावभन्दा निकै भिन्न छ, जहाँ पुराना नेता तथा पार्टीहरू अस्तित्व जोगाउने दाउमा छन् भने नयाँ शक्तिहरू स्थापित हुने दाउमा ।
पर्सा-१ को प्रारम्भिक आकलनलाई सूक्ष्म रूपमा नियाल्दा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा र नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवबीचको टक्कर मुख्य देखिए पनि भित्रभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साइनोले ठूला दलको निन्द हराम गरिदिएको छ । वीरगञ्जको बजार क्षेत्रमा कांग्रेस र रास्वपा बीचको प्रतिस्पर्धा पेचिलो देखिन्छ भने ग्रामीण क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारहरू भिडिरहेका छन् । यस्तो त्रिकोणात्मक र बहुकोणीय प्रतिस्पर्धाका बीच कसले बाजी मार्छ भन्ने ठ्याक्कै आकलन गर्न कठिन भए पनि प्रारम्भिक लहरमा प्रदीप यादव अलि पछाडि परेको र अनिल रुंगटाले विगतको हारको बदला लिने गरी माहोल बनाइरहेको चर्चा वीरगञ्जमा व्याप्त छ ।
प्रदीप यादवका लागि यो निर्वाचन ह्याट्रिक गर्ने अभियान मात्र होइन, आफ्नो राजनीतिक साख जोगाउने अग्निपरीक्षा पनि हो । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका यादवले २१ हजार १३२ मत प्राप्त गरी विजयी झण्डा गाडेका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका अनिल रुंगटालाई ५ हजार २५१ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । रुंगटाले १५ हजार ८८१ मतमा चित्त बुझाउनुपरेको थियो । २०७९ को निर्वाचनमा पनि यादवले आफ्नो विरासत जोगाउँदै २२ हजार ५३७ मत ल्याएर जितेका थिए, जहाँ उनले कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार अजय द्विवेदीलाई १ हजार ६२० मतले पछि पारेका थिए ।
तर, यसपटक यादवको जहाज अलि धर्मराएको संकेत देखिएको छ । हिजो मधेस आन्दोलनको रापतापमा केपी ओलीलाई मधेस विरोधीको संज्ञा दिने यादव आज तिनै ओलीको हातबाट माला लगाएर एमालेको सूर्य चिह्न बोकेर मत माग्न बाध्य छन् । मतदाताहरूले उनलाई हिजोको बोली र आजको अवस्थाका बारेमा कडा प्रश्नहरू सोधिरहेका छन् । जसपा विभाजन गरी अशोक राईको समूहमा लागेका र पछि फेरि उपेन्द्र यादवतिर फर्केर अन्त्यमा एमालेमा ओत लागेका यादवको यो दलबदलुको प्रवृत्तिलाई सर्वसाधारणले निकै सूक्ष्म रूपमा नियालेका छन् । उनले वीरगञ्जका मेयर राजेशमान सिंह र पूर्व मेयर विजय सरावगीलाई आफ्नो पक्षमा उभ्याउन सफल भए पनि भुइँतहका मतदाताहरू भने पार्टी भन्दा पनि परिवर्तनको पक्षमा उभिने संकेत देखिएको छ ।
यता, नेपाली कांग्रेसका अनिल रुंगटा यसपटक २०७४ सालमा बेहोरेको हारको बदला लिने मुडमा छन् । उनी निकै शान्त र रणनीतिक ढंगले चुनावी मैदानमा होमिएका छन् । कांग्रेसको परम्परागत मत जोगाउन र असन्तुष्ट रहेका पुराना कांग्रेसीहरूलाई फकाउन उनी सफल देखिएका छन् । ग्रामीण क्षेत्रमा कांग्रेसको पकड अझै पनि बलियो रहेकाले रुंगटाले आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । तर, उनलाई पनि बजार क्षेत्रमा रास्वपाले काट्न सक्ने मतले चिन्तित बनाएको छ ।
यसपटकको निर्वाचनमा सबैभन्दा रोचक पक्ष रास्वपाको उदय हो । होटल व्यवसायी बुद्धिप्रसाद पन्त (हरि पन्त) उम्मेदवार भए पनि मतदाताहरूले उनलाई भन्दा पनि घण्टी र मधेसको छोरो बालेन साह प्रधानमन्त्री बन्ने नारालाई बढी प्राथमिकता दिएको देखिन्छ । वीरगञ्जको बजार क्षेत्रका शिक्षित र युवा मतदाताहरूमा रास्वपाको प्रभाव जबर्जस्त छ । यसअघि एमाले वा कांग्रेसलाई मत दिँदै आएका अधिकांश मतदाताले यसपटक “नयाँ शक्तिलाई हेरौँ ” भन्दै मत फेर्ने संकेत देखाएका छन् । रास्वपाको यो जनलहरले एमालेको कोर मत र कांग्रेसको सहरी मत दुवैलाई ठूलो क्षति पुऱ्याउने देखिन्छ ।
प्रदीप यादवका लागि अर्को ठूलो चुनौती उनका पूर्व सहयोगी सुशील साह कानु हुन् । कानुले क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवारी दिएपछि यादवका समर्थकहरू दुई कित्तामा बाँडिएका छन् । यादवका खास कार्यकर्ताहरूले क्षेत्र नं २ मा रास्वपालाई मत माग्दा एमालेका पुराना कार्यकर्ताहरूले यादवलाई शंकाको नजरले हेर्न थालेका छन् । यसले यादवको सांगठनिक बललाई कमजोर बनाइदिएको छ ।
पर्सा-१ को यो निर्वाचन पद, पैसा र पावरको भन्दा पनि आवेग र आक्रोशको निर्वाचन बन्ने देखिएको छ । विगतमा जस्तो पैसाको भरमा मत प्रभावित पार्ने ठेक्कापट्टाको राजनीति यसपटक असफल हुने संकेतहरू छन् । यदि रास्वपाले बजारमा लिने मत र कांग्रेसले गाउँमा जोगाउने मतको समीकरण मिलेमा अनिल रुंगटाले बाजी मार्ने सम्भावना बलियो देखिन्छ । तर, प्रदीप यादवले पनि आफ्नो अन्तिम शक्ति प्रयोग गरेर ह्याट्रिक गर्ने कसरत गरिरहेका छन् । नयाँ शक्तिको उदय र पुरानाको साख बीचको यो लडाइँले पर्सा-१ को चुनावी नतिजालाई निकै रहस्यमय बनाइदिएको छ ।

















