६ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह र असन्तुष्टि सतहमा आउने क्रममा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी गम्भीर आरोपसहित राजीनामा दिएकी छिन् ।
‘जान्नेलाई छान्ने’ र युवा पुस्ताको उदय जस्ता लोभलाग्दा नाराबाट प्रभावित भएर राजनीतिमा होमिएकी शर्माले पार्टीभित्रै विधि, विधान र स्थापित मूल्यमान्यताको धज्जी उडाएको भन्दै बिदा हुने निर्णय गरेकी हुन् । विशेष गरी आगामी फागुन २१ गतेको निर्वाचनका लागि टिकट वितरण गर्ने सन्दर्भमा पार्टीले अपनाएको कार्यशैली र नेतृत्वको नियतमाथि उनले प्रश्न उठाएकी छिन् ।
पार्टीभित्र दिनरात खटिएका क्षमतावान् सदस्यहरूको अवमूल्यन भएको र नेतृत्वले आर्थिक लाभलाई प्राथमिकता दिएको शर्माको मुख्य आरोप छ । बारा घर भएकी उनले पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा सभापति रवि लामिछानेले आर्थिक चलखेल गरी अर्कैलाई टिकट बाँडेको भन्दै आफ्नो राजनीतिक नैतिकता र आत्मसम्मान जोगाउन मौन बस्न नसकेको बताएकी छिन् ।
रास्वपाभित्र मौलाउँदै गएको भनिएको यो ‘आर्थिक अनियमितता’ र पदको सौदाबाजीले स्थापनाकालीन आदर्शको हुर्मत लिएको दाबी गर्दै उनले जारी गरेको विज्ञप्तिले अहिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ ।

















