७ फाल्गुण, काठमाडौं । अमेरिका र इरानबीचको बढ्दो तनावले मध्यपूर्वलाई युद्धको सँघारमा पुर्याएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम स्वीकृति दिएमा यसै हप्ता अमेरिकाले इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गर्न सक्छ । सन् २००३ को इराक युद्धपछि मध्यपूर्वमा अमेरिकाले पहिलो पटक यति विशाल स्तरमा आफ्नो वायु सेना तैनाथ गरेको छ, जसमा एफ–३५, एफ–२२ र एफ–१६ जस्ता अत्याधुनिक लडाकु विमानका कैयौँ स्क्वाड्रनहरू तयारी अवस्थामा राखिएका छन् ।
अमेरिकी समाचार एजेन्सी एक्सियोसको दाबीलाई आधार मान्ने हो भने, यो कारबाही केही दिनको नभई धेरै हप्तासम्म चल्ने एउटा वृहत् सैन्य अपरेसन हुनेछ, जसको मुख्य निशाना इरानका आणविक र क्षेप्यास्त्र पूर्वाधारहरू बन्ने सम्भावना छ । रणनीतिक तयारीका हिसाबले अमेरिकाले हालैका हप्ताहरूमा मध्यपूर्वमा दुईवटा विमान वाहक जहाज, दर्जनौँ युद्धपोत र अत्याधुनिक हवाई रक्षा प्रणाली जडान गरिसकेको छ ।
हतियार र गोलाबारुद बोकेका १५० भन्दा बढी कार्गो उडानहरू यस क्षेत्रमा अवतरण गरिसकेका छन्, जसले आसन्न युद्धको गम्भीरतालाई झल्काउँछ । इजरायली सैन्य गुप्तचरका पूर्वअधिकारीहरूले पनि युद्धको सम्भावना ९० प्रतिशतसम्म रहेको र कूटनीतिक बाटो झिनो मात्र बाँकी रहेको विश्लेषण गरेका छन् । यो सम्भावित आक्रमणमा अमेरिकाले इजरायलसँग प्रत्यक्ष सहकार्य गर्ने बलियो सम्भावना देखिएको छ ।
यद्यपि, युद्धको बादल मडारिइरहँदा द्वन्द्व टार्ने अन्तिम कूटनीतिक प्रयासहरू पनि जारी छन् । मंगलबार मात्रै जेनेभामा ट्रम्पका सल्लाहकार जारेड कुसनर र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच झण्डै तीन घण्टा सघन वार्ता भएको थियो । वार्तामा केही प्रगति भएको सङ्केत पाइए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार इरान अझै पनि राष्ट्रपति ट्रम्पका कडा सर्तहरू स्वीकार गर्न तयार नदेखिएकाले सैन्य विकल्प नै अन्तिम समाधान बन्न सक्ने खतरा बढेको छ ।

















