Logo

८ फाल्गुण, काठमाडौं । युरोपको महत्वपूर्ण श्रम गन्तव्यका रूपमा उदाउँदो पोर्चुगलमा नेपाली दूतावासको ‘चान्सरी’ बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको ऐतिहासिक अवसर पारेर परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलकी विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आनाइसाबेल जेभियरले संयुक्त रूपमा दूतावासको उद्घाटन गर्नुभएको हो । विगत एक वर्षदेखि नै प्रारम्भिक सेवा सुरु गरेको दूतावासले अहिले औपचारिक स्वरूप पाएसँगै नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध थप संस्थागत हुने विश्वास गरिएको छ । उद्घाटन समारोहमा पोर्चुगलकी राज्य सचिव जेभियरले नेपाली दूतावासलाई स्वागत गर्दै भविष्यका कूटनीतिक सहकार्यमा पोर्चुगल सरकारको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दूतावासको यो औपचारिक सुरुवातले वर्षौँदेखि थाती रहेको द्विपक्षीय श्रम सम्झौताको बलियो जग बसाल्ने अपेक्षा गरिएको छ । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन लिस्बन पुग्नुभएका परराष्ट्र सचिव राईको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । हाल पोर्चुगलमा करिब ४० हजार नेपालीहरू कृषि, सेवा र औद्योगिक क्षेत्रमा क्रियाशील रहेका छन् । दूतावास स्थापना भएसँगै ती श्रमिकहरूको राहदानी नवीकरण, भिसा सहजीकरण र अन्य कानुनी जटिलताहरू सुल्झाउन अब घरदैलोमै सरकारी संयन्त्र उपलब्ध भएको छ, जसले नेपाली समुदायलाई ठूलो राहत पुग्ने देखिएको छ ।

यद्यपि, दूतावासको औपचारिक उद्घाटनलगत्तै आयोजना गरिएको अन्तरक्रियामा स्थानीय नेपाली समुदायले सेवा शुल्क र प्रक्रियागत झन्झटबारे गम्भीर प्रश्न उठाएका छन् । सहभागी प्रतिनिधिहरूले दूतावासले लिने सेवा शुल्क महँगो भएको र कागजी प्रक्रिया निकै झन्झटिलो हुँदा सामान्य श्रमिकहरू मर्कामा परेको गुनासो गरेका थिए । नेपालीका यी पीरमार्कालाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले मन्त्रालय प्रक्रियागत सुधार र शुल्क सहजीकरणका लागि सकारात्मक रहेको आश्वासन दिनुभएको छ ।

सोही अवसरमा संविधान दिवसका अवसरमा आयोजित लेख रचना प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र प्रशंसापत्रसहित सम्मान समेत गरिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै