Logo

८ फाल्गुण, काठमाडौँ । बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमा आगामी चैत २ गतेदेखि ‘ग्लोबल मनी विक’ को चौधौँ शृङ्खला मनाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै मार्च १६ देखि २२ (चैत २ देखि ८ गते) सम्म ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ यो विश्वव्यापी अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । युवा पुस्तालाई आर्थिक व्यवस्थापन, बचतको महत्त्व र वित्तीय जोखिमका बारेमा शिक्षित गराई उनीहरूमा सही वित्तीय निर्णय लिन सक्ने ज्ञान, सीप र मनोवृत्तिको विकास गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

सन् २०१२ देखि ‘अर्गनाइजेशन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसीडी) को संयोजनमा सुरु भएको यो अभियान हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका ७ करोड बालबालिका र युवामाझ पुगिसकेको छ । नेपालमा केन्द्रीय बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै हरेक वर्ष यस अभियानलाई विशेष प्राथमिकता दिँदै आएको छ । यस वर्षको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागिता रहने बताइएको छ, जसले विभिन्न विद्यालय तथा कलेजहरूमा पुगेर युवाहरूलाई आधुनिक बैंकिङ प्रणाली र सुरक्षित लगानीका बारेमा जानकारी प्रदान गर्नेछन् ।

नेपाल राष्ट्र बैंकले यस अभियानलाई थप प्रभावकारी र व्यापक बनाउनका लागि वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील अन्य संघसंस्था, नियमनकारी निकाय र सरोकारवालाहरूलाई पनि सहभागी हुन आह्वान गरेको छ । पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय ठगीका घटनाहरू समेत बढिरहेकाले यस वर्षको ‘स्मार्ट मनी टक्स’ अभियानले डिजिटल वित्तीय सुरक्षा र बुद्धिमानीपूर्ण खर्चका विषयमा विशेष जोड दिने अपेक्षा गरिएको छ । यस अभियानले नेपालको दीर्घकालीन आर्थिक स्थिरता र नागरिकको वित्तीय सक्षमतामा महत्त्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै