९ फागुन, वीरगञ्ज । वैकल्पिक राजनीतिको नारा लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्ना कार्यकर्ता र नेताहरूको व्यवहारका कारण गम्भीर आलोचनाको घेरामा परेको छ । वीरगञ्जको भन्सार गस्ती टोलीमाथिको आक्रमणदेखि लिएर पूर्वराजाको शालिक अपमान र अन्य दलको झण्डा जलाउनेसम्मका घटनाले यो पार्टी “संस्कारयुक्त राजनीति“ भन्दा “भीडको उत्तेजना“ तर्फ केन्द्रित भएको देखिन्छ ।
वीरगञ्जको आदर्शनगरमा सशस्त्र प्रहरीमाथि भएको आक्रमणमा रास्वपाका उम्मेदवार निकट व्यक्तिहरूको संलग्नता देखिनु र प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिँदा “राजनीतिक प्रतिशोध“ को खेल खेल्नुले विधिको शासनलाई चुनौती दिएको छ । अनुसन्धानमा सहयोग गर्नुको साटो मध्यरातमा प्रहरी कार्यालय घेराउ गरेर आरोपितलाई छुटाउनुले रास्वपा पनि पुराना दलहरूकै ’कार्यकर्ता संरक्षण’ गर्ने गलत बाटोमा हिँडेको संकेत गर्दछ ।
बाँके-३ का उम्मेदवार खगेन्द्र सुनारको विवादित अभिव्यक्ति र पूर्वराजा वीरेन्द्रको शालिकमाथि उभिएर गरिएको अभद्र व्यवहारले नेपाली समाजको धार्मिक र सांस्कृतिक संवेदनशीलतालाई नजरअन्दाज गरेको देखिन्छ । यस्ता गतिविधिले विभिन्न आस्था भएका समुदायबीच दूरी बढाएर सामाजिक विद्वेष पैदा गरिरहेको छ भने अर्कोतिर युवा पुस्तामा राजनीति भनेको केवल उग्रता, गालीगलौज र अपमान हो भन्ने गलत सन्देश प्रवाह गरी असंस्कारलाई प्रश्रय दिइरहेको छ ।
लोकतान्त्रिक अभ्यासमा असहमति व्यक्त गर्ने सभ्य तरिकाहरू हुँदाहुँदै भौतिक क्षति र अपमानमा उत्रिनुले यो पार्टीमा राजनीतिक परिपक्वताको अभाव रहेको पुष्टि गर्छ ।
काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन शाह रास्वपामा प्रवेश गरेसँगै मधेश भ्रमणका क्रममा देखिएका केही दृश्यहरूले ’लोकतन्त्र’ भन्दा ’लोकप्रियता’ (पोपुल्यारिज्म) लाई बढी प्रश्रय दिएको देखिन्छ । गजेन्द्रनारायण सिंह जस्ता सम्मानित व्यक्तित्वको शालिकमा गाडीबाटै माला फ्याँक्नु र समर्थकहरूलाई दुव्र्यवहार गर्नुले नेतृत्वमा अहङ्कार बढेको तर्फ इङ्गित गर्छ ।
“जसरी बाबाधाम जाँदा टाढैबाट पैसा फ्याँकिन्छ, त्यसरी नै माला फ्याँकिएको हो” भन्ने पार्टीको स्पष्टीकरणले नेतृत्वको गल्ती ढाकछोप गर्ने “अपरिपक्व” मानसिकता झल्काउँछ ।
रास्वपाका यस्ता गतिविधिले समाजमा अराजकताको बीजारोपण गर्ने र विधिको शासन भन्दा “भीडको न्याय” बलियो हुने खतरा बढेको छ । ’पुरानोलाई छोडेर नयाँ रोज्ने’ आशमा रहेका मतदाताहरूमा यसले झन् ठूलो वितृष्णा र निराशा पैदा गर्न सक्छ ।
अन्य राजनीतिक दलका झण्डा जलाउने र नेतृत्वलाई व्यक्तिगत गालीगलौज गर्ने संस्कारले स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई समाप्त पार्छ ।
रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको सहकारी रकम दुरुपयोगको गम्भीर आरोप र पछिल्लो समय पार्टीका उम्मेदवार तथा कार्यकर्ताले देखाएको व्यवहारले यो पार्टी “सुधारको संवाहक“ हो कि “अराजकताको भेल“ भन्ने प्रश्न उब्जिएको छ ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा, मतदाताले केवल ’ग्ल्यामर’ र ’भिड’ हेरेर मात्र होइन, उम्मेदवारको चरित्र, पार्टीको संस्कार र विधिको शासनप्रतिको प्रतिबद्धतालाई हेरेर मात्र आफ्नो मतको प्रयोग गर्नुपर्ने देखिन्छ । राजनीतिमा “नयाँ“ हुनु मात्र पर्याप्त छैन, “सभ्य“ र “जिम्मेवार“ हुनु पनि उत्तिकै अनिवार्य छ ।

















