Logo

Your paragraph text – 1

१० फाल्गुण, काठमाडौं । नेपाल प्रहरीले फरार प्रतिवादी पक्राउ र फैसला कार्यान्वयनको अभियानलाई तीव्र बनाउँदा चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा राज्यकोषमा उल्लेख्य राजस्व संकलन भएको छ ।

देशभरका विभिन्न इकाईहरूले चलाएको एक महिने विशेष अप्रेसनका क्रममा कुल ७ करोड २१ लाख २५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । अदालतबाट दोषी ठहर भई सजाय काट्न बाँकी रहेका र जरिवाना तिर्न आलटाल गरिरहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रममा यो सफलता हात लागेको हो । यस अवधिमा प्रहरीले देशभरबाट १ हजार ७४२ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिएको छ, जसलाई अदालतको फैसलाअनुसार कुल ५७० वर्ष ७ महिना २१ दिनको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यका प्रहरीको सक्रियता सबैभन्दा उच्च देखिएको छ, जहाँबाट ४४३ जना पक्राउ पर्नुका साथै ३ करोड ३ लाख रुपैयाँ जरिवाना संकलन भएको छ । त्यसैगरी, कोशी प्रदेशले १ करोड १३ लाख र बागमती प्रदेशले ७७ लाख ३० हजार रुपैयाँ जरिवाना उठाउँदै फैसला कार्यान्वयनमा तदारुकता देखाएका छन् । मधेस प्रदेशबाट ३६३ जना अभियुक्त पक्राउ परेका छन् भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि प्रहरीले फरार सूचीमा रहेकाहरूको खोजी कार्यलाई नतिजामुखी बनाएको तथ्याङ्कले स्पष्ट पार्छ । केन्द्रीय अनुसन्धान ब्युरोले समेत जटिल प्रकृतिका मुद्दाका ६ जना फरार प्रतिवादीलाई समातेर ५८ लाख रुपैयाँ जरिवाना असुल गर्न सफल भएको छ ।

प्रहरीको यो तथ्याङ्कले अपराध गरेर लुकिछिपी बस्नेहरूका लागि कानुनी घेरा कसिँदै गएको संकेत गरेको छ । जरिवाना र कैद असुलीको यो रफ्तारले न्याय प्रणालीप्रतिको जनविश्वास बढाउनुका साथै दण्डहीनता अन्त्यको दिशामा महत्त्वपूर्ण इँटा थपेको छ । विभिन्न प्रदेशका प्रहरी कार्यालयहरूले आ(आफ्नो क्षेत्रमा ुफरार खोजीु अभियानलाई प्राथमिकतामा राखेका कारण माघ महिनाको यो नतिजा उत्साहजनक देखिएको हो ।

यसले आगामी दिनमा पनि कानुनी फैसला कार्यान्वयनको प्रक्रियालाई थप प्रभावकारी बनाउने र दोषीलाई उम्किन नदिने प्रहरीको प्रतिबद्धतालाई बल पुर्‍याएको छ ।


सम्बन्धित समाचार