१३ फाल्गुण, काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षाका परम्परागत चुनौतीसँगै प्रविधिजन्य जोखिमले राज्य संयन्त्रलाई नयाँ दबाब दिएको छ ।
नेपाल कानुन समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनअनुसार यसपटकको निर्वाचनमा लुटिएका हतियार र फरार कैदीबन्दीभन्दा पनि सामाजिक सञ्जालको दुरुपयोग सुरक्षाको मुख्य टाउको दुखाइ बनेको छ ।
एकीकृत सुरक्षा योजना लागू भए तापनि टिकटक, फेसबुक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा फैलिने द्वेषपूर्ण भाषण र भ्रमपूर्ण सामग्रीले चुनावी वातावरण बिथोल्न सक्ने भन्दै सुरक्षा निकायले यसलाई हाइ–रिस्कमा राखेका छन् । विशेष गरी जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि भएका आक्रमणले प्रहरीको मनोबलमा पारेको असर र साइबर बुलिङले निर्वाचन सुरक्षालाई थप जटिल बनाएको अध्ययनको निष्कर्ष छ ।
पछिल्लो समय युवा मतदाताको मनोविज्ञानमा सामाजिक सञ्जालको प्रभाव निर्णायक देखिएको छ । १६ देखि २९ वर्ष उमेर समूहका करिब ३२ प्रतिशत युवाले आफ्नो मतदानको निर्णय इन्टरनेटमा आउने सामग्रीकै आधारमा लिने बताएका छन् । यसले भौतिक सभा र र्यालीभन्दा डिजिटल प्रचारप्रसार बढी शक्तिशाली भएको पुष्टि गरे पनि पैसा र पहुँचको दुरुपयोग हुन सक्नेमा ३४ प्रतिशत मतदाताले चिन्ता व्यक्त गरेका छन् ।
यति हुँदाहुँदै पनि ७१ प्रतिशत मतदाता तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क देखिएका छन्, जसमा मधेस प्रदेशका नागरिक सबैभन्दा बढी उत्साहित पाइएका छन् । सुरक्षा निकायको चुस्त तयारी र ९१ प्रतिशतभन्दा बढी सुरक्षाकर्मीको उच्च मनोबलले आम नागरिकमा निर्वाचनप्रतिको भरोसालाई अझ मजबुत बनाएको छ ।
राजनीतिक रूपमा यो निर्वाचन परम्परागत शक्ति र नयाँ धारबीचको महासङ्ग्राम बन्ने सङ्केत अध्ययनले गरेको छ । ८४ प्रतिशत मतदाताले यसपटक नयाँ राजनीतिक शक्तिको उदय हुने अपेक्षा राखेका छन् भने ५५ प्रतिशत युवा मतदाताले वैकल्पिक शक्तिलाई नै रोज्ने मनसाय बनाएका छन् । खासगरी ३७ प्रतिशत मतदाता अझै पनि ‘पर्ख र हेर’ को अवस्थामा रहेकाले उनीहरूको मत नै अन्तिम नतिजाका लागि निर्णायक हुने देखिएको छ । मतदाताले केवल नयाँ प्रतिनिधि मात्र नभई प्रत्यक्ष निर्वाचित कार्यकारी र संवैधानिक सुधारको समेत अपेक्षा गरेका छन् ।
सुरक्षा चुनौती र केही संशयका बाबजुद सरकारको तीव्र तयारी र आम नागरिकको व्यापक सहभागिताले फागुन २१ को निर्वाचन मुलुकको राजनीतिक मार्गचित्र बदल्ने एउटा विशिष्ट अवसरका रूपमा हेरिएको छ ।

















