१८ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित एस.पी.एम. कार्टुन उद्योगमा आइतबार साँझ एक मजदुरको मेसिनमा च्यापिएर मृत्यु भएको छ।
साँझ करिब ५ बजे पर्सागढी नगरपालिका–५ हर्दिया टोलका २७ वर्षीय वीरेन्द्र पण्डितको उद्योगभित्रै काम गर्ने क्रममा मेसिनमा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकका आफन्त उमेश पण्डितका अनुसार घटनाको समय र परिस्थितिलाई लिएर परिवारले शंका व्यक्त गरेको छ। उद्योगमा जडान गरिएको सीसीटीभी क्यामेरामा घटनाअघि र पछाडिको दृश्य देखिए पनि ठ्याक्कै घटना भएको समयको दृश्य नदेखिएको भन्दै परिवारले गम्भीर प्रश्न उठाएका छन्।
पीडित पक्षले सीसीटीभी फुटेजको अवस्था र घटनाको प्रकृति शंकास्पद देखिएको दाबी गर्दै प्रशासनसँग निष्पक्ष र गहिरो छानबिनको माग गरेका छन्। घटनापछि उद्योगका सञ्चालक भनिएका महेश शर्मा सम्पर्कमा नरहेको परिवारको आरोप छ। व्यवस्थापन पक्ष सम्पर्कमा नआउँदा परिवार आक्रोशित र चिन्तित बनेको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्सा ले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी अनुसन्धान सुरु गरिएको छ। सीसीटीभी फुटेज तथा प्राविधिक पक्षको सूक्ष्म विश्लेषण भइरहेको र छानबिनबाट दोषी देखिएका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।
मृतकको शव परीक्षणका लागि स्थलगत मुचुल्का प्रक्रिया पूरा भएपछि परिवारको सहमतिमा पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

















