२४ फागुन, वीरगञ्ज । मधेस राजनीतिको मुटु मानिने पर्सा जिल्लाले यसपटक नेपाली राजनीतिकै एउटा अविश्वसनीय र ऐतिहासिक ’टर्निङ प्वाइन्ट’ दिएको छ ।
२०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा पर्साका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन् । दशकौँदेखि पर्साको राजनीतिमा हालीमुहाली गर्दै आएका पूर्वमन्त्रीहरू र स्थापित अनुहारहरू नयाँ शक्तिको अगाडि निरीह सावित भएका छन् ।
निर्वाचन आयोगको अन्तिम तथ्याङ्क अनुसार पर्सामा पुराना दलहरूको विरासत पूर्णतः ध्वस्त भएको छ ।
क्षेत्र नं. १ मा रास्वापाका बुद्धिप्रसाद (हरि) पन्त २७ हजार २ सय ७४ मतका साथ निर्वाचित भए । उनले नेकपा एमालेका हेभीवेट उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरे ।
क्षेत्र नं. २ मा रास्वापाका सुशील साह कानु ३० हजार ७ सय ४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता अजय कुमार चौरसिया ११ हजार ८ सय ९० मतमा सीमित रहे ।
क्षेत्र नं. ३ मा रास्वापाका रामाकान्त प्रसाद चौरसिया २९ हजार ६ सय ७९ मतका साथ निर्वाचित भए । उनले कांग्रेसका पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ को भारी मतान्तरले पराजित गरे ।
क्षेत्र नं. ४ मा रास्वापाका टेक बहादुर शाक्य २८ हजार २६ मतका साथ विजयी हुँदा कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री रमेश रिजालले मात्र १२ हजार ५ सय ३४ मत प्राप्त गरे ।
किन ढले पर्साका यी पुराना ’स्तम्भ’हरू ?
पर्सामा प्रदीप यादव, अजय चौरसिया, सुरेन्द्र चौधरी र रमेश रिजाल जस्ता नामहरू केवल उम्मेदवार मात्र थिएनन्, तिनीहरू मधेस र केन्द्रको सत्ता राजनीतिका ’पावर हाउस’ थिए । तर यसपटक ती सबै स्तम्भहरू ढल्नुका पछाडि मुख्य तीन कारण देखिएका छन् ।
पहिलोः सत्ताको लुछाचुँडी र अस्थिरताप्रति वितृष्णा, दोश्रोः पुस्तान्तरणको चर्को माग र ’नो नट अगेन’ तेश्रोः रास्वापा र ’बालेन क्रेज’ को प्रभाव ।
छोटो समयमै स्वास्थ्य, वन तथा वातावरण र खानेपानी मन्त्री बनिसकेका पर्सा–१ का प्रदीप यादवले दल परिवर्तन र सत्ताको सौदावाजी गरेको कुरालाई मतदाताले रुचाएनन् । “जसपाको सचिव रहेकै बेला मन्त्री बन्ने र चुनावको मुखमा एमाले प्रवेश गर्ने प्रवृत्तिलाई जनताले अवसरवादको संज्ञा दिए ।”
क्षेत्र नं. ४ बाट ७ पटकसम्म चुनाव लडेका रमेश रिजाल र क्षेत्र नं. २ का अजय चौरसिया जस्ता नेताहरूले दशकौँसम्म सत्ताको स्वाद चाखे पनि जिल्लाको आधारभूत समस्या (बेरोजगारी, कृषि र पूर्वाधार) समाधानमा ठोस पहल नगरेको आरोप मतदाताको छ । २०२६ सालदेखि राजनीतिमा रहेका रिजाल र २०४८ देखि सक्रिय पुर्वमन्त्री सुरेन्द्र चौधरीका लागि यसपटक ’परिवर्तन’ को नारा घातक बन्यो ।
काठमाडौँबाट सुरु भएको वैकल्पिक राजनीतिको लहर मधेसका गाउँ–बस्तीसम्म पुगेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका नयाँ अनुहार, सुशासनको वाचा र काठमाडौँका मेयर बालेन शाहको कार्यशैलीबाट प्रभावित युवा पुस्ताले यसपटक जात र धर्मभन्दा माथि उठेर ’परिवर्तन’ खोज्दै नयाँ शक्तिलाई रोजेका छन् ।
पर्साको यो नतिजाले मधेस केन्द्रित दल (जसपा, लोसपा) र पुराना ठूला दल (कांग्रेस, एमाले) दुवैलाई गम्भीर आत्मसमीक्षाको सन्देश दिएको छ । मतदाताले अब पुरानो त्याग र जेल जीवनको कथा होइन, वर्तमानको कार्यक्षमता र भविष्यको स्पष्ट मार्गचित्र खोजेका छन् । पर्सामा रास्वापाको क्लिन स्वीप केवल एक जित मात्र होइन, यो मधेसको राजनीतिमा ’नयाँ युग’ को घण्टी हो ।

















