Logo

२९ फागुन, वीरगञ्ज । नेपाल आयल निगमले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र अस्वाभाविक मागलाई सम्बोधन गर्न आजदेखि ‘आधा सिलिन्डर’ ग्यास वितरण सुरु गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्किएको युद्ध र त्यसले निम्त्याएको आपूर्ति अवरोधको मनोवैज्ञानिक त्रासका कारण बजारमा ग्यासको अभाव बढेपछि निगमले यस्तो कदम चालेको हो ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास मात्र खरिद गर्न पाउनेछन्। यसको मूल्य पनि साबिकको १४.२ केजी तौल भएको पूरा सिलिन्डरको तुलनामा आधा नै तोकिएको छ । “अन्तर्राष्ट्रिय परिस्थितिले आपूर्तिमा केही असहजता देखिएको छ, त्यसैलाई मध्यनजर गर्दै धेरैभन्दा धेरै उपभोक्ताको भान्छासम्म ग्यास पुर्‍याउन हामीले यो निर्णय लिएका हौँ,” डा. भट्टले भने ।

निगमले आधा सिलिन्डरको नीति लिँदा वितरण क्षमता दोब्बर हुने दाबी गरेको छ । डा. भट्टका अनुसार पहिले एक हजार जनाले ग्यास पाउने कोटामा अब दुई हजार जनाले ग्यास पाउनेछन् । यसले गर्दा ग्यास नपाएर रित्तो सिलिन्डर बोकी लाइनमा बस्नुपर्ने सर्वसाधारणको समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

यसका साथै, ग्यासको हाहाकार हुने डरले अनावश्यक रूपमा घरमा सिलिन्डर थुपारेर राख्ने (होल्डिङ गर्ने) प्रवृत्तिलाई पनि यो निर्णयले निरुत्साहित गर्ने निगमको विश्वास छ । “आधा सिलिन्डर मात्र वितरण हुँदा मानिसहरूले अनावश्यक स्टक गर्न पाउँदैनन्, जसले गर्दा बजारमा ग्यासको चक्र सहज रूपमा घुमिरहन्छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पश्चिमी एसियाको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्ति मार्गमा जोखिम देखिएको भन्दै बजारमा केही दिनदेखि कृत्रिम अभाव सिर्जना हुन थालेको थियो । निगमले भने ग्यासको आयात भइरहेकोले नआत्तिन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न उपभोक्तालाई पुनः आग्रह गरेको छ ।


सम्बन्धित समाचार