Logo

३० फागुन, काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक आज बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फका निर्वाचित सदस्यहरूको नामावली भोलिसम्ममा बुझाइसक्न राजनीतिक दलहरूलाई पत्राचार गरिसकेकाले एमालेले आजको बैठकबाट नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको छ । समावेशी सिद्धान्त र क्लस्टरका आधारमा प्राप्त मत परिणाम अनुसार पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूको सूची तय गर्नु बैठकको मुख्य प्राथमिकता रहनेछ ।

बैठकमा हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारका विषयमा पनि निर्मम समीक्षा हुने नेताहरूले बताएका छन् । प्रत्यक्षतर्फको नतिजा र पार्टीको समग्र प्रदर्शन कमजोर हुनुका कारणहरूबारे सचिवालय सदस्यहरूबीच छलफल हुनेछ ।

पार्टीभित्र पछिल्लो समय निर्वाचनको परिणामलाई लिएर नेतृत्व परिवर्तनका विषयमा समेत बहस सुरु भएको छ । “निर्वाचनमा पार्टी किन पछाडि पर्यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे गम्भीर छलफल हुनेछ,” एक नेताले भने, “नेतृत्वको कार्यशैली र संगठनको संरचनाबारे बाहिर भइरहेका बहसबारे पनि बैठकमा कुरा उठ्ने सम्भावना छ।”

निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको गृहकार्य सुरु भइसकेको अवस्थामा एमालेले आफ्नो आगामी कदमबारे पनि रणनीति तय गर्नेछ । प्रतिपक्षमा बस्ने वा अन्य समीकरणमार्फत सरकारमा जाने भन्ने विषयमा पनि प्रारम्भिक छलफल हुने बताइएको छ । बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाका सम्बन्धमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार