२ चैत, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले अवैध रुपमा संचालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) बन्द गर्न निर्देशन दिएको छ ।
प्रशासनले सम्बन्धित निकायबाट इजाजत अथवा स्वीकृती नलिई वा नवीकरण नगरी संचालनमा रहेका कन्सल्टेन्सी तथा म्यानपावरलाई १५ दिनभित्र बन्द गर्न वा नवीकरण गर्न आइतबार निर्देशन दिएको हो ।
निर्देशनविपरीत अटेर गरी बसेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ । प्रचलित कानुन बमोजिम अधिकारप्राप्त संस्थाबाट स्वीकृत/इजाजपत्र नलिई संचालित कन्सल्टेन्सीमध्ये केहीलाई विगतमा बन्द गराउन पत्राचार/निर्देशन समेत भएको प्रशासनले जानकारी दिएको छ।
केही संस्थाहरूले नियमित रुपमा कार्यालय संचालन गरी नै रहेका, भिसा प्रक्रिया गर्ने, जब ग्यारेन्टी गर्ने जस्ता अनावश्यक एवं झुट्ठा आश्वासनहरू दिने गरेकाले प्रशासनले सूचना जारी गर्दै उक्त निर्देशन दिएको छ ।
त्यस्तै, प्रक्रियासम्मत ढंगले इजाजत/स्वीकृत नलिई म्यानपावरहरूले शाखा/सम्पर्क कार्यालय खोली कारोबार गर्ने गरेको समेत पाइएको प्रशासनले बताएको छ ।

















