Logo

२ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखेपछि आजका लागि पुनः सुनुवाइ तोकिएको हो ।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै यसलाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो । सोही आदेशअनुरूप आइतबार पेसी तोकिए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि मुद्दा आजको कार्यसूचीमा परेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको कार्यकालमा चलाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दाहरू फिर्ता लिने निर्णय गर्नुभएको थियो । महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय कानुनविपरीत र राजनीतिक पूर्वाग्रह प्रेरित रहेको भन्दै सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन् ।

युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले दायर गर्नुभएका ती रिटमा फौजदारी न्याय प्रणालीमा गम्भीर असर पर्ने गरी मुद्दा फिर्ता लिइएको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

आज हुने सुनुवाइले सरकारको मुद्दा फिर्ता लिने निर्णय कायम रहने वा बदर हुने भन्ने विषयमा प्रारम्भिक दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ । सभापति लामिछानेविरुद्धको यो कानुनी लडाइँलाई राजनीतिक र न्यायिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार