Logo

६ बैशाख, वीरगञ्ज । पर्याप्त पानी नपर्दा बारा पर्सा सहित मध्यतराईका जिल्लाहरुमा गर्मी बढेको छ । यस क्षेत्रमा विगत केही समयदेखि पानी नपर्दा गर्मी अत्याधिक बढेको र जनजिवन अस्तव्यस्त बनको छ । गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको हो ।

मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पछिल्लो चार–पाँच दिनदेखि हल्का र मध्ययमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । तर, केही ठाउँमा चेतावनीको स्तर पार गरेर विषमस्तरको लु चल्न थालेको छ ।

सामान्यतया लगातार तीन दिन वा सोभन्दा बढि समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा “लु”(तातो हावा) चल्न थाल्छ । तर, कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा लु चलेको मानिने भनेर छुट्टै मापदण्ड तय भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराईका सिराहा, जनकपुर, सिमरा, लहान लगायत ठाउँमा अधिकतम तापक्रम चेतावनीको स्तर पार गरेर विषम लु चल्न थालेको छ ।

लु चलेको क्षेत्र जनकपुरमा सोमबार अधिकतम तापक्रम ४०.५ डिग्री रहेकामा मंगलबार ४०.८ पुगेको छ । यहाँ आइतबार ३९.६ डिग्री तापक्रम थियो । यस अवधिमा जनकपुुरमा अधिकतम तापक्रम ४० पुग्दा विषम लु मानिन्छ ।

विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार आज दिउँसो १ बजेको तापक्रम पर्साको वीरगञ्जमा ३७ डिग्री सेल्सियस पुगेको थियो । उक्त वेभसाइटका अनुसार बढ्दो तापक्रमका कारण हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ ।

वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि औजार अनुसन्धान केन्द्रमा रहेको अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउत कमकरले यहाँको तापक्रम बुधबार बिहान पौने ९ बजे मिनिमम २२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । उहाँका अनुसार पर्साको तापक्रम मगंलबार साँझ पौने ६ बजे म्याक्सिमम ४०.६ डिग्री सेल्सियस थियो ।

राती समेत हावा नचल्दा पर्सा बारा लगायत ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

चर्को घामसँगै बढेको गर्मीले भाईरल ज्वरो, रुघाखोकी, घाउ खटिरा, शरिर दुख्ने लगायतबाट ग्रसित हुने मानिसहरु समेत बढेका छन् । यद्यपी उनीहरु अस्पताल भने नगई घरमै स्वास्थ्य सर्तकता अपाउने गर्दछन् ।

तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धाहरुमा श्वासप्रश्वासमा असर पुर्याउने चिकित्सकहरुले बताएका छन् । अत्याधिक गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कुनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी तथा जीवनजल पिउन वीरगञ्जस्थित नारायणी अस्पतालका फिजिसियन डा. सरोज रोशन दासको सुझाव छ ।

बढ्दो गर्मीसँगै झाडा पखाला, लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा।दासले बताउनुभयो ।

बढ्दो गर्मीसँगै पर्सा लगायत अन्य जिल्लाका वनहरुमा लागेको डढेलोका कारण यसवर्ष तापक्रम अत्यन्तै बढेको बुद्धिजीविहरु बताउँछन् । मानवीय व्यवहार र गतिविधि, उद्योग, कलकारखानाकै कारण तापक्रम वृद्धि र वातावरणमा असर गर्ने उनीहरुको भनाई छ ।


सम्बन्धित समाचार