Logo

१४ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरले शहरी क्षेत्रको सरसफाइ र सौन्दर्यकरणलाई विगत एक बर्ष देखि मुख्य अभियानको रुपमा सञ्चालन गरेपछि वीरगञ्जको चर्चा अहिले देशका प्रमुख शहरहरुमा हुन थालेको छ ।

४/५ बर्ष अघि सम्म सडक पेटी र चोक चौराहामा हुने फोहोरको कारण बाहिरबाट काम विशेषले तथा घुम्न आउने मानिसहरुले समेत वीरगञ्ज भन्ने वित्तिकै दुर्गन्धको शहर भन्ने गदर्थे । तर अहिले भने वीरगञ्जको परिचय फेरिएको छ ।

वीरगञ्ज महानगरपालिकामा नयाँ नेतृत्व आएपछि सडक पेटी, चोक चौराहा र ढलमा फोहोर फ्याँक्ने व्यक्ति र संस्थाहरुलाई दण्डजरीवाना गर्न थालेको छ । सरसफाइको जिम्मा लिएको निजी क्षेत्रको कम्पनी पृथ्वीतारा प्रा.ली र महानगरबाट खटिने सफाइकर्मीलाई कडाईका साथ सरसफाइ अभियानमा लगाएपछि वीरगञ्ज सफा सुन्दर र हराभरा शहरको रुपमा विकशित हुन थालेको हो ।

वीरगञ्ज महानगरपालिकाले बैशाख १३ गते सम्म सडक पेटीमा फोहोर फ्याक्ने ३६२ जना व्यक्तिहरुलाई कार्वाही गरेको छ । सडकमा फोहोर राख्ने वित्तिकै छडके अनुगमनमा खटिएका नगर प्रहरी र सरसफाइ शाखाका कर्मचारीले सम्वन्धीत व्यक्तिलाई फोहोर उठाउन लगाउने गरेको र उसले गरेको गल्ती अनुसारको दण्डजरीवाना समेत गर्दै आएको सरसफाइ शाखाका प्रमुख सरर्फुदिन मियाँले बताए ।

वीरगञ्ज महानगरपालिकाले बुधवार सम्म फोहोर फ्याक्ने मानिसहरुबाट दण्डजरीवाना बापत ८ लाख ७३ हजार रुपियाँ राजश्व असुल गरेको छ । सडकमा फोहोर फाल्नेलाई उसको कसूर हेरेर दण्डजरीवाना गर्ने गरेको महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

वीरगञ्ज महानगरपालिकाले सडक पेटीमा फोहोर गर्नेलाई न्यूनतम ५ सय देखि अधिकतम् ५० हजार सम्म जरीवाना गरेको छ । वीरगञ्जको मुख्य सडकमा ट्याक्टरबाट माटो खसाल्दै फोहोर गरेको भन्दै वीरगञ्ज महानगरपालिका वडा नंं ४ मा रहेको सीता अस्पताललाई ५० हजार जरीवाना गरेको थियो । अहिले चारै तिर निगरानी बढाइएको र फोहोर सडकमा फ्याँक्ने मानिसका वारेमा जनताले समेत सूचना दिने गरेको नगर प्रहरी इन्चार्ज हरि भूषालले बताए ।

वीरगञ्जबासीसँग सडक पेटीमा फोहोर गरेबापत दण्डजरीवाना गरेर राजश्व उठाउने नियत महानगरपालिकाको नभएको वीरगञ्जका मेयर राजेशमान सिंहले बताए । जनताबाट जरीवाना गरेर राजश्व उठाउने नियत हाम्रो होईन तर पटक पटक भन्दा र सुचना गर्दा समेत अटेर गरेर सडकमा फोहोर गर्ने उपर बाध्य भएर कार्वाही गर्नु परेको मेयर सिंहको भनाई छ ।

शुरुको समयमा सामान्य जरीवाना लिएर सचेत गराइएको भएपनि पछिल्लो समयमा समेत अटेरगरी सडक पेटी र नालामा फोहोर ल्याएर राख्ने उपर कडा कार्वाही गर्ने नीति अख्तियार गरीएको मेयर राजेशमान सिंहले बताए । वीरगञ्जको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको छ, मेयर राजेशमान सिंहले भने “सफा, सुन्दर र हराभरा शहर बनाउने महानगरको अभियानमा नगरवासीको साथ सहयोग र समर्थन खोजेका छौ ।”

मेयर सिंहले वीरगञ्जको सौन्दर्यकरणमा यहाँका हरेक नागरिकको साथ, सहयोग र शुभेच्छा समेत आफूले पाएको बताए । मैले वीरगञ्जको विकास र परिवर्तनको लागि गरेको काममा यहाँका जनताको साथ पाएको छुँ । सायद त्यहीँ भएर होला आज वीरगञ्जको चर्चा देशका विभिन्न शहरहरुमा हुन थालेको छ, मेयर सिंहले भने ।

वीरगञ्जको सडक, पेटीको सरसफाइ विहान ५ बजे देखि राती १ बजे सम्म तीन सिफ्टमा हुने गरेको छ । मेनरोड र त्यस आसपासमा जोडिएका भित्री सडकमा समेत महानगरपालिकाले फोहोर उठाउने गाडी र ठेला नियमित रुपमा पठाउने गरेको सरसफाई प्रमुख सरफूर्दिन मियाँले बताए । साइरन बजाउदै निस्कने ट्याक्टरमा नगरवासीले फोहोर राख्न थालेपछि वीरगञ्ज सफा सुन्दर देखिन थालेको हो ।

वीरगञ्ज महानगरपालिकाले गण्डक देखि शकराचार्य गेट सम्मको सौन्दर्यकरणका लागि विशेष अभियान सञ्चालन गरेको छ । सहिद तेज बहादुर अमात्यको शालिक, घण्टाघर र शंकराचार्य गेटको सौन्दर्यकरणको काम भइराखेको छ । तीनै ठाउँमा रंङ्गरोगनको काम अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

वीरगञ्जको सरसफाईलाई पहिलो प्राथमिकतामा राख्दै वीरगञ्जको माइस्थानमा रहेको गहवामाई मन्दिर परिसरको सौन्दर्यकरण, पिपरामठको पशुपतिनाथ मन्दिरको सौन्दर्यकरण र घण्टाघर देखि बसपार्क जाने सडकको डिभाइडरमा रंङ्गरोगन गर्ने काम पुरा भएको महानगरले जनाएको छ ।

वीरगञ्जको घण्टाघर देखि पावरहाउस चोक सम्ममा रहेको सडकको विच भागको डिभाइडरमा रंङ्गरोगन गर्ने र बोट विरुवा रोप्ने तथा भएका बोटहरुको संरक्षण गर्दै शहरलाई हरियाली बनाउने अभियानमा महानगर लागेको मेयर राजेशमान सिंहले बताए । अहिले बाहिरबाट आउने पर्यटकलाई समेत वीरगञ्ज घुम्न र बस्ने लायकको शहर बनाउन सफल भएको मेयर सिंहको भनाई छ । वीरगञ्जले पछिल्लो पटक पाएको सफलतामा यहाँका नगरवासीको समेत साथ र सहभागीता रहेकोले यो काम संभाव भएको हो, मेयर सिंहले भने ।

नेतृत्वमा दृढ इच्छाशक्ति भएमा असंभव केही हुदैन भनेर वीरगञ्जले सिकाएको छ, वीरगञ्ज घुम्न आएका चितवन माडी ९ निवासी शिक्षक तोयनाथ अधिकारीले भने “दुर्गन्ध र फोहोरको शहरबाट वीरगञ्ज सफा सुन्दर र हराभरा शहरको रुपमा बदलिन्छ र ? भन्ने धेरै मानिसको कौतूहलतालाई वीरगञ्ज महानगरका मेयरले गरेर संभव छ भन्ने प्रमाणित गरिदिए, यो नै वीरगञ्जवासीको लागि ठूलो सफलता हो ।”


सम्बन्धित समाचार