Logo

१३ कार्तिक, वीरगञ्ज । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो बर्षको छठ पर्व सम्पन्न हुन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

छठको व्रत कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाएका छन ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

यो पर्वको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । झण्डै दुई दशकअघि तराई, मधेशको सीमित क्षेत्रमा मनाइने छठले अहिले देशभरी यो पर्व मनाउने गरेको पाइन्छ । मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ ।

छठ पर्वका लागि मधेशका जिल्ला वाहेक हेटौडाको राप्ती, चितवनको नारायणी, राप्ती र रेवा नदि, काठमाडौको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।


सम्बन्धित समाचार