Logo

२४ वैशाख,सेढवा । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुधेश्वर महादेव मन्दिरस्थित रामभौरी भाथाको मेला सम्पन्न भएको छ । हरेक वर्ष झै यसवर्ष पनि आज बैशाख कृष्णपक्ष त्रयोदशीका दिन दुधेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको थियो ।

मेलामा पर्सा, बारा,.रौतहट तथा भारत बिहार राज्यका विभिन्न स्थानबाट आएका भक्तजनहरुको भिड थियो । भगवान शिवलाई जल, अक्षता, फूल, प्रसाद धुप, अगरबती लगायतका पूजाका सामग्री चढाई पूजा आराधना गरिएको छ ।

यस्तै भाखल अनुसार मेलामा अष्ठजाम, भगवान शिवको आराधना ठाउँ ठाउँमा भइरहेको छ । साथै चर्मरोग निको भएका भक्तजनहरुले सवा भार भाण्टा चढाउने प्रचलन छ । मानव बस्तीभन्दा करिब १७ किलोमिटर जंगलभित्र रहेका भाथा पहाडमा अवस्थित यस मन्दिरमा भारतीय नागरिकहरु समेत दर्शन गर्न आउने गरेका छन् ।

जंगल, पहाड तथा खोलाको रमणीय दृष्यले भारतीय पर्यटकहरु लोभिने गरेका छन् । गत बर्ष जंगल प्रवेशका लागि निकुञ्ज प्रशासनले सोनवर्षाको नाका मात्र खुल्ला गरेको थियो । तर यस वर्ष दुईटै नाका खोलेको सुनाखरी वन समितिका अध्यक्ष भिमबहादुर पाख्रिनले बताए ।

लामो समयदेखि बन्द रहेको ठोरी गाँउपालिकाका गडुवालाईन पोष्ट नाका खोलिएका र सो नाका भएर चारभैया पोष्टमा पुग्ने व्यवस्था बनाएको उनले जनाए । चारभैयाबाट मन्दिरसम्म एउटै बाटो प्रयोग गरी जाने व्यवस्था गरिएकोले बाटोमा निकै भिड बढेको छ ।

आज बिहानदेखि नै भाथा जाने यात्रीहरुको लर्को लागेका थिए । भारतीय यात्रीहरु ठोरी, बलुवा, जानकीटोला, भिस्वा र वीरगंज नाका भएर नेपाल भित्रिएका थिए भन्ने आइतबार रातको बास भाथा खोला, घर्मशाला, तथा जिराभवानी, पटेर्वासुगौली र ठोरीका मठमन्दिरमा बसेका थिए ।


सम्बन्धित समाचार