३१, जेठ काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल लगानी करिब १८ खर्ब पुगेको छ ।
देशभर साना, मझौला तथा ठूला उद्योगहरूमा वित्तीय क्षेत्रको लगानी एक वर्षको अवधिमा ७.९९ प्रतिशतले बढेर गत पुससम्म १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्ष ६ महिनामा देशभर साना, मझौला र ठूला गरी थप ४ सय ६१ नयाँ उद्योगहरू दर्ता भएका छन् । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६३ वटा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४ वटा उद्योग दर्ता भएका हुन् । चालु आर्थिक वर्षको सो अवधिमा दर्ता भएका उद्योगहरूमा प्रस्तावित विदेशी लगानी ५५ अर्ब ८३ करोड रहेको छ भने ती उद्योगहरूले २२ हजार ८ सय ८५ जनालाई रोजगारी सिर्जना गरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशत मात्रै रहेको छ भने गत वर्षको सो अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ४२.९४ प्रतिशत थियो । सर्वेक्षणमा समेटिएका उद्योगमध्ये गार्मेन्ट उद्योगको क्षमता उपयोग ९५.७४ प्रतिशत, अन्य लत्ता कपडा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९० प्रतिशत छ । यसैगरी, जलविद्युत उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ८२.७४ प्रतिशत, टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ७६.२० प्रतिशत र चाउचाउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ७० प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा हेर्दा उद्योगको क्षमता उपयोग लुम्बिनी प्रदेशको सबैभन्दा बढी ५०.४४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा थोरै ३०.८२ प्रतिशत रहेको छ । सम्रगमा समीक्षा वर्षमा मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको उद्योगको औसत क्षमता उपयोग बढेको छ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग घटेको छ ।














