Logo

१ माघ, पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ३० जनाको शव अस्पतालमा पुर्याइएको छ । सुरक्षाकर्मीहरुले दुर्घटनास्थलबाट ३० जनाको शव निकालेर पोखरास्थित गण्डकी अस्पतालमा पठाएका हुन् ।

दुर्घटनास्थल सेतीको खोंचमा ३४ जनाको शरीर देखिएको छ । सेतीको खोंचमा देखिएकाहरुलाई उद्दार गर्ने प्रयास भइरहेको कास्कीका एसपी अजय केसीले बताए । उनले भने– ‘कठिन भूगोलका कारण उद्दार गर्न त्यति सहज छैन, झोलामार्फत खोंचमा देखिएकाहरुलाई माथि ल्याउने प्रयास गरिरहेका छौं ।’

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

विमान दुर्घटना भएको खोच आसपासमा ठुलो बस्ती छ । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्य सहित ७२ जना सवार थिए ।

दुर्घटनापछि मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । दुर्घटनाबारे मृतक र घाइतेका परिवारलाई आधिकारिक सूचना दिन कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पार्थिव शरीर बुझ्न र लैजान सहजीकरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।


सम्बन्धित समाचार