Logo

२६ मंसिर,वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका–४ नजिक आज बिहान ट्रक–कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक क्षेत्रमा करिब बिहान ८ बजे बागमती प्रदेश–०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा एक–अर्कामा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए।

दुर्घटनामा कारमा सवार बाराको निजगढ–३ निवासी ७९ वर्षीय भक्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। कार चालक निजगढका ३० वर्षीय दिनेश थपलियाको टाउको र अनुहारमा चोट पुगेको छ भने कारमै रहेका चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटालाई छाती दुख्ने समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

घटनापछि ट्रक चालक मकवानपुर, हेटौंडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार