Logo

 २ साउन,काठमाडौं । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई थप तीव्र बनाएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले अभियानप्रति समर्थन जनाउँदै अतिक्रमण हटाउने कार्यको प्रशंसा गरेका छन्।

सहभागीहरूले पोखरा बसपार्क, फिर्के खोला र अमरसिंह चोकलगायत क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले खेलेको भूमिका सकारात्मक रहेको बताए। उनीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गामै बसपार्क निर्माण गर्न र फिर्के खोलाको सीमा निर्धारण भइसकेकाले ‘फिर्के कोरिडोर’ निर्माण कार्य तत्काल सुरु गर्न सुझाव दिएका छन्।

महानगरले हालै ती क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना हटाएको थियो।

कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर कुनै पनि अवस्थामा पछि नहट्ने स्पष्ट पारे। उनले कुनै पनि बहानामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य स्वीकार्य नहुने र अभियान निरन्तर जारी रहने बताए।

मेयर आचार्यले महानगरभित्र रहेका सार्वजनिक जग्गाको एकीकृत लगत सङ्कलन भइरहेको जानकारी दिँदै केही समयभित्रै त्यसको विस्तृत विवरण सार्वजनिक गरिने बताए।

महानगरका अनुसार प्रारम्भिक अनुमानमा पोखरामा वन क्षेत्रसहित करिब ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको छ।


सम्बन्धित समाचार