Logo

२ साउन,काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आगामी साउन ११ गते उद्घाटन हुने भएको छ। निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार सुरुङमार्ग उद्घाटनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटनको स्वरूप र उद्घाटन गर्ने व्यक्तिबारे मन्त्रालयमा छलफल भइरहेको उनले बताए। प्रधानमन्त्री वालेन्द्र शाहबाट उद्घाटन गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए।

नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार उद्घाटन भएकै दिनदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा भने आउने छैनन्। सुरुङमार्गमा तीन महिनासम्म ‘ट्रायल ओपनिङ पिरियड’ सञ्चालन गरिनेछ।

उनका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण अवधिमा कुनै समस्या नदेखिए चौथो महिनादेखि सर्वसाधारणका सबै सवारीसाधन सञ्चालनमा ल्याइने योजना रहेको छ। परीक्षण अवधिमा सडक शुल्क लिने वा नलिने विषयमा भने अझै निर्णय भइसकेको छैन।

आयोजनाले निर्माणको जिम्मा लिएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग आयोजनालाई हस्तान्तरण गरिसकेको जनाएको छ। अब सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजनाले नै सम्हाल्नेछ।

सम्झौताअनुसार ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले ढिलाइ हुँदै ७९ महिनापछि पूरा भएको हो। आयोजना सम्पन्न गर्न करिब २५ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यसमध्ये १७ अर्ब रुपैयाँ निर्माणमा, दुई अर्ब रुपैयाँ निर्माण सामग्री र विनिमय दर वृद्धिका कारण तथा छ अर्ब रुपैयाँ जग्गा मुआब्जामा खर्च भएको हो।

आयोजनाका लागि जापान सरकारले करिब १९ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारले व्यहोरेको हो। यसका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

आयोजनाअन्तर्गत २.६८८ किलोमिटर लामो मुख्य सुरुङमार्ग र आपतकालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङ निर्माण गरिएको छ। मन्त्रिपरिषद्ले यसअघि नै सवारीसाधनको प्रकारअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म सुरुङमार्ग शुल्क निर्धारण गरिसकेको छ।


सम्बन्धित समाचार