२ साउन,वीरगञ्ज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानवसेवा आश्रमलाई विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता)का अनुसार आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन पिठो, तेल, नुन, तरकारीलगायत आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।
मानवसेवा आश्रमले समितिप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले आश्रममा आश्रित आमाबुवाहरूको सेवा, संरक्षण तथा दैनिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको जनाएको छ। आश्रमले समाजसेवाप्रतिको यस्तो मानवीय भावना र सहयोगले अन्य व्यक्ति तथा संस्थालाई पनि सामाजिक सेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।
धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तर अघि बढाउँदै आएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आगामी दिनमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
मानवसेवा आश्रमले समितिको उत्तरोत्तर प्रगति, सफलता तथा श्री गहवामाईको असीम कृपा सधैं रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ।



















