२ साउन,काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। पहिरोका कारण यातायात पूर्ण रूपमा प्रभावित भएपछि प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग र कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोरमा पनि सवारी आवागमन रोकिएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। साथै यात्रा गर्नुपरेमा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



















