Logo

२४ चैत,वीरगञ्ज । कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाईडल रिक्सा अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । रोजगारीको अभावकाबीच नगद कमाइको सहज माध्यम बनेको रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस शहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई विस्थापित गर्दै आएको हो ।
वीरगंजमा समेत विद्युतीय रिक्सा चल्न थालेदेखि पाईडल रिक्सा दिनप्रतिदिन कमी आएको छ । विद्युतिय रिक्साबाट यात्रुहरु एक स्थानबाट अर्को स्थानसम्म आवातजावत गर्न सहज मान्ने हुनाले अहिले पाईडल रिक्साको प्रयोगमा कमी आएको हो ।

पर्सामा ई–रिक्साको संख्या मात्रै ५ हजारदेखि ७ हजारको हाराहारीमा छ । लामोदुरीमा विद्युतिय रिक्साले समयमै पु¥याउने हुनाले यात्रुहरुले यसको बढि प्रयोग गर्ने बताएका छन् । विद्युतिय रिक्साको तुलनामा पाईडल रिक्सामा भाडाँ समेत ज्यादै लाग्ने उनीहरुको गुनासो छ । कतिपय रिक्सा चालकले त मन लाग्दी तरिकाले भाँडा असुल गर्ने भन्दै यात्रुले झगडा समेत गर्ने गरेको बताउछँन् ।

यता पाईडल रिक्सामा दुईजना मात्र सहज रुपले बस्न मिल्ने र यसमा बढि मेहेनत लाग्नाले उनीहरुको भाँडा बढि हुने रिक्सा चालकले बताएका छन् । तर विद्युतिय रिक्सामा पाईडल रिक्साको तुलनामा धेरै यात्रु सवार हुन सक्ने र उनीहरुको न्युनतम भाँडा नै १५ रुपैँयादेखि अधिकतम ५० रुपैँयासम्म हुने गर्दछ ।

पाईडल रिक्सा चालकहरुले हाल विद्युतिय रिक्साकै बढि प्रयोगको कारण दिनभरिमा २ सय रुपैँया सम्म पनि कमाउन धौधौ भएको भन्दै गुनासो गरेका छन् । उनीहरुका अनुसार पहिले प्रत्येक दिन ५ सय देखि १ हजारसम्म आम्दानी हुन्थ्यो ।
वीरगञ्ज महानगरपालिका–१६ का रिक्सा चालक रकेम यादवले ई रिक्सामा सवार भएकाहरुलाई चाडैँ नै गन्तव्यतर्फ पुग्ने हुनाले यात्रुहरुको रोजाईमा विद्युतिय रिक्सा पर्ने गरेको बताउनुभयो । उहाँले हाल दैनिक ३ सय रुपैँया कमाउन पनि गाह्रो हुने जानकारी दिनुभयो । कहिले काहीँ त बोहोनी समेत नहुने उहाँको भनाई छ ।

त्यस्तै वीरगञ्ज–९ पानगल्लीस्थित सरिता रिक्सा ग्यारेजका सञ्चालक रामबाबु साहले विगत १३ वर्षदेखि पाईडल रिक्सा चलाएर नै जीविकोपोर्जन गर्दै आईरहेको बताउनुभयो । हाल आफूसँग ३ प्रकारको ४७ वटा रिक्सा रहेको साहको भनाई छ । उहाँका अनुसार रिक्सा चलाए बापत नयाँमा २ सय, मध्यम १ सय ५० र पुरानो १ सय रुपैँयाका दरले चालकलाई तिर्ने गरेका छन् ।
यता भारतको रक्सौल घर भई विगत १५ वर्षदेखि वीरगञ्जमा रिक्सा चलाउदैँ आउनुभएका रन्जित कुमार कुशवाहाले पहिले ५ सयदेखि ८ सयसम्म रिक्सा चलाएर आम्दानी हुने गरेको बताउनुभयो । तर विद्युतिय रिक्सा बजारमा आएकै कारण आफ्नो कमाईबाट ५ सयको नोटसम्म देख्न नपाएको उहाँले गुनासो गर्नुभयो ।

हाल विद्युतिय रिक्सा बजारमा छ्याप्छ्याप्ती भएकाले पाईडल रिक्सा विस्थापित हुने अवस्था सिर्जना भएको उहाँको भनाई थियो । जसका कारण आफ्नो दैनिकीमा समस्या उत्पन्न भएको र यसले आफ्नो परिवार, बालबच्चाको पालनपोषणका लागि समस्या बनिदिएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार