Logo

१० वैशाख, वीरगञ्ज । कुर्था–जनकपुरधाम–जयनगर चल्ने नेपाल रेल्वेबाट दैनिक लाखौं रुपैयाँको कपडा र गुट्खा तस्करी भईरहेको तथ्य सार्वजनिक भएको छ । रेलबाट दैनिक भन्सार छली ल्याईएका लत्ता कपडा तथा प्रतिबन्धित गुट्खा तस्करी भई रहँदा समेत भन्सार कार्यालय र प्रहरी मुकदर्शक बनेर बसेको बताईएको छ ।

नेपाल रेल्वेको सुरक्षाका लागि सरकारले ५० जना सशस्त्र प्रहरी बलका डीएसपीको कमाण्डमा सुरक्षाकर्मी खटाएको छ । तर प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमै तस्करी भईरहेको जनगुनासो बढेको हो । तस्करीमा संलग्न एक कारोबारीका अनुसार रेल सञ्चालन हुनु अघि प्रहरी प्रशासनलाई मासिक करिब पाँच लाख रुपैयाँ बुझाउनु पर्दथ्यो भने रेल संचालन हुन थालेपछि दुई लाखको हाराहारीमा रकम बुझाएर कारोबार भइरहेको हो । उनका अनुसार तस्करले भन्सार कार्यालय र प्रहरीलाई मासिक रकम बुझाउनुपर्ने हुन्छ ।

यसरी रकम बुझाएपछि दैनिक भन्सार छली गरेर भारतको जयनगरबाट कपडासहितको सामान आयात हुँदै आएको कारोवारीहरुको भनाइ छ । कुर्थादेखि जयनगरसम्म पाँच वटा स्टेशन र एउटा हल्ट छन् । अवैध तथा प्रतिवन्धित सामानहरु ल्याउनबाट रोक्न हरेक स्टेशनमा प्रहरी खटाईएको छ ।

तर, उनीहरु नै तस्करसँग सेटिङ गरेर यस्ता सामान ओसारपसारमा दैनिक सघाइरहेको स्थानियको भनाई छ । यता तस्करीका बारेमा आफूलाई केही जानकारी नभएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रमुख सञ्चालक निरञ्जन झाले बताउनुभयो । उहाँका अनुसार कसले के सामान ल्यायो त्यो चेकजाँच गर्ने काम आफ्नो नभई भन्सार र नेपाल प्रहरीको हो ।


सम्बन्धित समाचार